सर्जु-५२ जातको उन्नत धान सिफारिस हुँदा कृषक हर्षित



प्रकाशित मिति : Oct 09, 2019

धनगढी । सर्जु-५२ जातको उन्नत धान लगाउन सरकारले सिफारिस गरेसँगै कैलाली जिल्लाका किसान खुसी भएका छन् । वर्षौँअघिदेखि यो जातको धानखेतीतर्फ जिल्लाका किसानको आकर्षण बढ्दै गएको अवस्थामा सरकारले सिफारिस गरेको हो । सरकारले सर्जु–५२ जातको धानखेती लगाउन सिफारिस गर्दा राहत मिलेको स्थानीय किसान रामकुमार रानाले बताए ।

खेती गर्दा रोग किराको समस्या देखिएमा स्वयं किसान, बीउ उत्पादक र बिक्रेताले व्यहोर्नुपर्ने सर्तमा कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय बीउबिजन कम्पनीले सर्जु–५२ जातको धानखेती गर्न सिफारिस गरेको नेपाल बीउ व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकान्त ढकालले बताए ।

कैलालीको ७० प्रतिशत र कञ्चनपुरको ५० प्रतिशत जग्गामा यो धानखेती किसानले गर्दै आएका छन् । “किसानको जोडबलमा कम्पनीले यो धानखेती गर्न सिफारिस गरेको हो”, ढकालले भने, “सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा सर्जु–५२, मध्यतराईमा सावाँ मन्सुली र पूर्वको झापा, मोरङमा रञ्जीत मन्सुली जातको धानखेती गर्न सिफारिस गरिएको छ ।”

कम वा बढी पानी भए पनि राम्रो उत्पादन दिने मध्यम मोटो सर्जु–५२ धानलाई कैलाली र कञ्चनपुरमा लाटो धानका रूपमा समेत चिन्ने गरिन्छ । यो धानको भण्डारण गर्दा रोग किराको समस्या नहुने, पराल बस्तुभाउले पनि पराएर खाने, पोटिलो दाना लाग्ने भई उत्पादन पनि अन्य जातको तुलनामा राम्रो हुने कृषकको भनाइ छ ।

“अन्य जातका धानको तुलनामा सर्जु धानको उत्पादन बढी हुने भएकाले यो धानखेतीमा वर्षौँदेखि कृषकको आकर्षण बढेको हो”, स्थानीय कृषक रानाले बताए । रोग किराको समस्या देखिने गरेका कारण यो धानको खेती गर्न विगतमा सरकारले सिफारिस नगरेको कृषि प्राविधिकको भनाइ छ ।

विगतमा सिफारिस नभए पनि सरकारसँगको सहमतिमा निजी क्षेत्रका बीउ उत्पादक कम्पनीले यो धानको बीउ उत्पादन गरी बिक्री वितरण गर्दै आएका थिए । यसैबीच कृषि निर्देशनालय दीपायलको टोलीले कैलाली र कञ्चनपुर जिल्लामा गरिएको सिन्दुरी र गरिमा जातको धानमा बाला लाग्न नसकेको समस्याका विषयमा स्थलगत निरीक्षण अध्ययन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा रहेको कृषि प्राविधिकको टोलीले कैलाली र कञ्चनपुर जिल्लामा खेती गरिएको हाइब्रिड (वर्णशङ्कर) जातको सिन्दुरी र गरिमा धानबालीको स्थलगत अध्ययन निरीक्षण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com