कुन्ती मलको कमालः नुनदेखि सुनसम्म, फापरदेखि पापडसम्म र रोटीदेखि स्याण्डवीचसम्म (भिडियो)



प्रकाशित मिति : Oct 01, 2019

१. कुन्ती मलको कमालः नुनदेखि सुनसम्म, फापरदेखि पापडसम्म र रोटीदेखि स्याण्डवीचसम्म

सुविधा सम्पन्न व्यापारिक प्रतिष्ठानहरु अहिले उपभोक्ताको रोजाईको पक्ष बनेको छ । आफूले चाहेको सबै सामानहरु एकै थलोमा पाए राम्रो हुन्थ्यो भन्ने मान्यता आम उपभोक्तामा बढ्दै गर्दा व्यवसायीहरुले पनि उपभोक्ताको रोजाईको सम्मान गर्दै यस्ता प्रतिष्ठानहरु खोल्ने होड तीब्र बनेको छ । एउटै छानो मुनि सबै सामान पाउँदा उपभोक्ताले पनि सहजता र सुविधाको महसुस गर्दै आएका छन् । फेरिदो बजार शैली, उपभोक्ताको रोजाईमा देखिएको परिवर्तन, मूल्यको सम्मान हुने गरि गुणस्तरीय सामान पाउनु र विश्वका धेरै देशमा उत्पादित सामानको उपलब्धताको कारण पनि व्यापारिक मलहरु प्रति आम उपभोक्ताको विश्वास र आकर्षण बढ्दो छ ।

उपभोक्ताको यही चाहनाको सम्बोधन गर्न पोखरामा पुनः नयाँ व्यवस्था अनुरुप सञ्चालनमा आएको कुन्ती मल यसैको उदाहरण बनेको छ । २०४७ सालमा नै सञ्चालनमा आएपनि पुनः सुविधा सम्पन्न रुप दिएर अगाडि बढाइएको कुन्ती मलमा उपभोक्ताको चाहना बमोजिम नुनदेखि सुनसम्म, फापरदेखि पापडसम्म र रोटीदेखि स्याण्डवीचसम्म उपलब्ध गराइएको छ ।

२. तनहुँ कारागारका कैदीवन्दी दशैंमा परिवारलाई घर खर्च जुटाउन मुढा बुन्न व्यस्त

कैदीबन्दीहरुका लागि चाडवाड वास्तवमा नै निरश बन्ने गर्छ । घरपरिवारको सम्झना गर्दै कारागारमा कठोर दिन विताउनु पर्दा जोकोहीलाई पनि उराठ लाग्नु अस्वभाविक होइन पनि । तर तनहुँको कारागारमा रहेका कैदीवन्दीहरुले भने आफूहरुको दशैं जे जसरी विते पनि परिवारको दशैं भने रमाइलोसंग वितोस भनेर रातोदिन मेहनत गरिरहेका छन् । विहान उठेदेखि रात नछिप्पिएसम्म उनीहरुले मुढालगायत विभिन्न हस्तकलाका सामानहरु बनाएर बजारमा पठाउँदै मनग्ये आम्दानी गर्दै आएका छन् ।

कैदीवन्दीहरुले बनाएको मुढाले बजारमा भाउ पनि राम्रो पाउँने हुँदा उनीहरुले घरमा धेरेथोर सहयोग गर्न सफल हुँदै आएका छन । बर्ष दिनमा आउने हिन्दू धर्मावलम्बीहरुको ठूलो चाड दशैं हुने खानेहरुले मात्र नभई हुँदा खानेहरुले पनि आफ्नो गच्छे अनुसार हर्षका साथ मनाउँदै आएका छन नै । त्यसमाथि कैदीवन्दीहरुले आफ्नो परिवारका लागि गरेको प्रयासले पनि दशैंको महत्वलाई थप छर्लङ्ग पारेको छ ।

३. होमस्टेबाट आर्जन गरेको रकम समुदाय र गाउँको विकासमा छुट्याउँदा होमस्टेको महत्व बढ्दै

होमस्टे विगत डेढ दशकदेखि नेपालको ग्रामीण पर्यटनको लागि महत्वपूर्ण आधारशीला बन्दै आएको छ । नेपालको गाउँठाउँ चिनाउन महत्वपूर्ण माध्यम बन्दै आएको होमस्टेको प्रचलन अहिले देशभरका ग्रामीण भेग मात्र नभइ शहरी क्षेत्रमा पनि उपस्थिति जनाइसकेको छ । बिभिन्न जातजातिको वसोवास रहेको नेपालमा सबै समुदायको आआफ्नै विशिष्ठ परम्परा, संस्कृति र संस्कार पनि रहदै आएको छ । बिभिन्न समुदायको यही संस्कृतिलाई नजिकबाट नियाल्न पनि होमस्टे सहायकसिद्ध बन्न सफल हुँदै आएको छ ।

त्यसमाथि होमस्टेबाट आर्जन गरेको रकम समुदाय र गाउँको विकासमा पनि छुट्याउने गरिदा यस्को महत्व अझ चुँलिदो छ । लमजुङको शिरुबारीमा रहेको पूरानो मध्येको एक होमस्टे पनि यसैको उदाहरण बनेको छ । होमस्टेमा पुग्नेहरुले स्थानीय उत्पादनलाई नै बढी रुचाउने हुँदा पनि स्थानीयवासीको आयआर्जनमा पनि बृद्धि हुन पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com