ग्याँस व्यवसायीको मनपरिले आम नेपालीको भान्सामा भयको सिलिण्डरको उपस्थिति (भिडियो)



प्रकाशित मिति : Sep 28, 2019

आम नेपाली एउटा सम्भावित खतरनाक भयलाई घर भित्र हरेक समय आफ्नै साथमा लिएर हिँडिरहेका छन् । धेरै ढुक्क छन्, यो आम नेपालीको बानी र विश्वास पनि । तर अब यो कमजोरीमा परिणत हुने भयलाग्दो सम्भावना बढ्दै गएको छ । साँझ विहान होस् या दिउँसो जतिखेर पनि अधिकांश नेपालीले भान्सामा राखेर प्रयोग गर्ने खाना पकाउने ग्याँस अर्थात सिलिण्डरले विस्तारै भयको रुप बोक्न थालेको हो ।

ग्याँस व्यवसायीहरुको सेवाग्राहीप्रतिको धर्म र कर्म भुलेर जतिखेर पनि मुनाफाखोरी मात्र बन्दा भान्साका सिलिण्डरहरु बम बन्ने सम्भावना बढ्दो छ । त्यसमाथि ग्यासँ सिलिण्डरको अवस्थाबारे अनुगमन गर्ने सरकारी निकायको अभावले पनि यो खतरा दिनानु दिन बढ्दो छ । केही एलपी ग्याँस उद्योगहरुले म्याद नाघेका सिलिण्डरहरु नयाँ रंग हालेर रंग्याएर बजारमा बेचिरहेका छन् । स्क्र्यापमा फाल्नुपर्ने सिलिण्डरहरु यसरी रंग्याएर बजारमा पठाउन पुरानो ग्याँस कम्पनीहरु उद्दत बन्दा सिलिण्डरले कुन बेला कुन ठाउँमा कुन रुप लिने हो भन्न सक्ने अवस्था छैन ।

नापतौल तथा गुणस्तर विभागले एलपी ग्याँसको नेपाल गुणस्तर मापदण्डमा कुनै पनि कुच्चिएको, ठोक्किएको, नेट रिंङ र फुट रिङ बिग्रिएको सिलिण्डरहरुको पुनःप्रयोगमा कडाई गरेको छ । तर धेरै उद्योगहरुले यस्ता सिलिण्डरहरु रंग्याएर बजारमा पठाउने गरेका छन् । नेपाल गुणस्तर मापदण्डमा सिलिण्डरको तौलको ५ प्रतिशत भन्दा तौल कम भएका सिलिण्डरलाई सोझै स्क्रयापमा पठाउनुपर्ने उल्लेख छ । तर ग्राहकको घरबाट फर्किएको सिलिण्डरको न त उद्योगमा तौल नै गरिन्छ, न कुनै नापजाँच नै ।

अन्तर्राष्ट्रिय बजारमा भित्रको ग्याँसको अवस्था छर्लङ्ग देखिने सिलिण्डर प्रयोगमा आइसक्यो । जसको कारण सिलिण्डरबाट हुने क्षतिबाट प्रयोगकर्ता देशहरुले आफ्नो नागरिकलाई बचाउन सफल भएका छन् । तर यहाँ नागरिकको ज्यानको सुरक्षाको चिन्ता कस्लाई र ? यही प्रश्न उठाएको छ ग्याँस व्यवसायीहरुको शैलीले । एलपी ग्याँसको अनुगमन गर्ने निकाय नै नभएका कारण पनि ग्याँस उद्योगहरुले नेपाल गुणस्तर मापदण्डलाई लागू गर्न अटेर गर्दै आएका छन् ।

देशका विभिन्न भागमा रहेका गुणस्तर तथा नापतौल कार्यालयलाई पनि गुणस्तर जाँच्ने अधिकार छैन । केन्द्रमा बाहेक अन्य क्षेत्रमा एलपी ग्याँसको अनुगमन गर्ने निकाय नभएको फाइदा उद्योगहरुले पाएका छन् । के अब अनुगमन गर्ने निकायको अभावमा ग्याँस व्यवसायीहरुले मनपरि गर्ने छुट दिएर नेपालीको जनताको ज्यान जोखिममा पारिरहने त ?


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com