निर्मला पन्त प्रकरणमा नयाँ ट्विष्ट : आमाले दिइन् दिलिपसिंहविरुद्ध किटानी जाहेरी, प्रहरीले केही बोल्न मानेनन् (भिडियो)



प्रकाशित मिति : Sep 27, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. निर्मला पन्तकी आमाले दिइन् दिलिपविरुद्ध किटानी जाहेरी

१३ वर्षीया किशोरी निर्मला पन्त प्रकरणमा निर्मलाकी आमा दुर्गादेवी पन्तले दिलिपसिंह विष्टविरुद्ध किटानी जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उनले गत भदौ २२ गते नै किटानी जाहेरी दिइसकेकी भएता पनि प्रहरीले अझैसम्म विष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्नु त कता हो कता सूचना समेत लुकाउने प्रयास गरेको छ । प्रहरीले एक वर्षअघि पत्रकार सम्मेलन गर्दै विष्टले नै घटना गराएको दाबी गरेको थियो । त्यतिबेला निर्मलाकी बुबाआमाले दिलिपसिंह विष्ट नै संलग्न रहेको शंका व्यक्त गरेका थिए । अहिले भने दिलिपको व्यवहार र उनका परिवारका सदस्यहरुले बोलेका भिडियो, उनको भिडियोहरु देखिसकेपछि दिलिपसिंहमाथि शंका गर्ने आधार भएकाले किटानी जाहेरी दिएकी हुन् ।

२. गेट पासको भरपाई भन्दै सिराहाका मेयरले हस्ताक्षर गराएपछि…

सिराहा । सिराहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले आफूले गरेको अनियमितता ढाकछोप गर्नका लागि नगरसभाको बैठकमा जान गेट पासको भरपाई भन्दै छलेर नगरसभाको मुल रजिष्टारमा कार्यपालिका सदस्यहरुसँग हस्ताक्षर गराएका छन् । मेयरले यसरी छलेर हस्ताक्षर गराएपछि कर्जन्हा नगरपालिकामा बिवाद उत्पन्न भएको छ ।हामीलाई प्राप्त निर्णयको पहिलो पेजमा झुक्याएर हस्ताक्षर गराएपछि बहुमत सदस्यहरुले यस विषयमा छानविन गरी दोषीलाई कारवाहीको सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयलमा निवेदनसमेत दिएका छन् ।

३. अनियमितताको आशंका– एउटा धाराको महसुल १७ हजार रुपैयाँ बढी

उदयपुर । उदयपुरको कटारीमा सञ्चालित कटारी साना सहरी खानेपानी तथा सरससफाई आयोजनाका सामान्य उपभोक्ताले पानीकै महसुल १७ हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्ने भएको छ । यतिमात्र नभई आयोजनाले पहिल्यै १४ हजारमा वितरण गरेको पूराना धारानै अहिले ४० हजारमा किनबेच भइरहेका छन् । कटारीमा एउटा सामान्य परिवारलाई पूरै घरपरिवारको घरखर्च धान्ने रकम बराबरको पानीकै महसुल आएपछि उपभोक्ताहरु अन्यौलमा छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com