‘फ्री भिसा, फ्री टिकट’ भन्दै विज्ञापन गर्ने अनि लाखौं उठाउने ?



प्रकाशित मिति : Sep 17, 2019
  • युवराज कँडेल,

काठमाडौं । स्वदेशमै रोजगारी नपाएपछि धेरै युवाहरुले अहिले पनि दैनिक पत्रपत्रिकामा विदेश जाने सूचना र विज्ञापन कुरेर बसेका हुन्छन् । उनीहरुलाई नै लक्षित गरी म्यानपावर कम्पनीहरुले आर्कषक सेवा सुविधा देखाएर निःशुल्क भन्दै विज्ञापन छाप्छन् । त्यही विज्ञापनलाई आधारमा मानेर म्यानपावर पुग्दा म्यानपावरले लाखौं पैसा माग्छन्, भने पैसा मागेको भिडियो नै वैदेशिक रोजगार विभागमा बुझाउँदा पनि कारवाही हुँदैन ।

सोझा युवा ठग्ने यो श्रृङ्खलाको एउटा प्रतिनिधि घटना यस्तो छ । काठमाडौंस्थित टोखामा रहेको अलमाइट इन्टरनेशनल म्यानपावर सर्भिसले एक दैनिक पत्रिकामा युएईमा मोटरसाइकल चालकको लागि अवसर भन्दै एक विज्ञापन प्रकाशन ग-यो ।

विज्ञापनमा ७७ हजार रुपैयाँ भन्दा बढी तलब, ८ घण्टा काम र खाना बस्ने सुविधा उल्लेख गरिएको छ । विज्ञापनमा स्वास्थ्य परीक्षण शुल्क, जीवन वीमा, अभिमुखीकरण र कल्याणकारी कोष शुल्क कामदार आफैले व्यहोर्नु पर्ने भनिएको छ । यी शिर्षकमा लाग्ने खर्च १० हजार भन्दा पनि कम हुन्छ ।

यो विज्ञापनमा भिषा शुल्क र भिषा स्ट्याम्पिङ शुल्क भनेर दुई वटा फरक –फरक शीर्षक राखेर सोझा व्यक्तिलाई झुक्याउन खोजिएको छ । यसमा भिषा शुल्क रोजगारदाताले ब्यहोर्ने भनिएको छ, भने भिषा स्ट्याम्पिङ शुल्क कामदार कम्पनीले व्यहोर्नुपर्ने भनिएको छ ।

वैदेशिक रोजगारीमा पठाउँदा म्यानपावर कम्पनीले लिन पाउने भनेको सेवा शुल्क मात्रै हो तर, यी विज्ञापनमा सेवा शुल्क पनि निःशुल्क भनिएको छ, ठूलो अक्षरमा । यही आकर्षक विज्ञापन देखेर ताप्लेजुङका साइमन लिम्बु, सुनसरीका सन्तोष मण्डल जस्ता सयाैं युवा म्यानपावरमा अन्तरवार्ता दिन पुगे । अन्तरवार्तामा सबैलाई युएई जाने भए ४ लाख ७५ हजार रुपैयाँ पैसा म्यानपावरलाई दिनुपर्ने भनियो ।

निःशुल्क भन्ने विज्ञापन देखेर म्यानपवार पुगेका युवाहरु निराश भए । म्यानपावर सञ्चालकले उनीहरुसँग ४÷५ हजार छुट गर्न सकिने भन्दै पैसाको बार्गेनिङ गरेका छन् । अलमाइट्स म्यानपावरले युएईको अलाइट जोन डेलिभरी सर्भिस कम्पनीको डिमान्ड लेटरमा युएइ स्थित नेपाली दुतावासले समेत प्रमाणीकरण गरेको छ ।

यो डिमान्ड लेटरमा खाने, बस्ने, हवाई टिकट, भिषा शुल्क, दैनिक यातायात, वीमा सबै कम्पनीले व्यहोर्ने भनि प्रमाणीकरण गराएको छ । यही आधारमा म्यानपवारले विज्ञापन पनि छापेको छ तर, मेनपावरमा पुग्दा सञ्चालकले ४ लाख भन्दा बढी पैसा माग्छन् ।

म्यानपावरको विज्ञापन, युएई स्थित नेपाली दुतावासले प्रमाणीकरण गरेको कम्पनीको डिमान्ड लेटर र म्यानपवार सञ्चालकले पैसा मागेको भिडियो लगेर पीडित युवाहरु वैदेशिक रोजगार विभाग बुद्ध नगर पुगे । तर, विभागका कर्मचारीले भने कि पैसा दिएको रंगेहात समाउनुप-यो, कि पैसा मागेको लिखित प्रमाण चाहियो भन्दै म्यानपावर विरुद्ध उजुरी गर्न मानेनन् ।

अब विभागका कर्मचारीले भने जस्तो कुन म्यानपावरले लिखितरुपमा पैसा माग्छन् र पीडितहरु लागि प्रमाण बन्छ ? हुनसक्ने सबै प्रमाण बनाएर विभाग पुग्दा पनि विभागमा उजुरी दर्ता नभएपछि युवाहरुसँग कि ४ लाख ७५ हजार शुल्क तिरेर दुवई जानुप-यो, हैन भने पुनः अर्को यस्तै नक्कली विज्ञापन कुरेर बस्नुको विकल्प रहेन ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com