सन्तोष सेनको ‘प्रेमगीत–३’को लागि सुगठित शरीर बनाउँदै प्रदीप



प्रकाशित मिति : Sep 17, 2019

काठमाडौं । अहिलेको समय अभिनेता प्रदीप खड्का आफूलाई ‘स्टार’ बनाएको फिल्म ‘प्रेमगीत’ को तेस्रो श्रृंखलाको तयारीमा छन् । यो फिल्मको छायांकन तिहारपछि सुरु गरिने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी गराइसकेका छन् । यो फिल्म नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिनेछ ।

फिल्ममा अभिनेता प्रदीप तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिँदैछन् । यो फिल्ममा उनको जोडी नव–अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । फिल्मलाई निर्माता सन्तोष सेन र छेतेन गुरुङले संयुक्तरुपमा निर्देशन गर्दैछन् ।

खस्किदै गएको स्टारडमलाई ‘प्रेमगीत–३’ ले उत्कर्षमा पु–याउने विश्वासका साथ अभिनेता प्रदीप केही महिनायता विभिन्न तयारीमा गरिरहेका छन् । उनले सुगठित शरीर बनाउन जिममा पसिनासमेत बगाइरहेका छन् । एकादेशको पूरानो प्रेमकथामा आधारित भएर निर्माण हुँदै गरेको यो फिल्ममा एक्शन अवतारमा देखिँदैछन् ।

जसको लागि प्रदीपले अहिले हर्स राइडिङ, एक्शन ट्रेनिङ र शरीर आकर्षक बनाउन जिममा दैनिक घन्टौं समय बिताउँदै आएका छन् । फिल्ममा उनले एक योद्धा राजकुमारको भूमिका निभाउँदैछन् । बेला–बेला जिममा कसरत गरिरहेका केही तस्वीरहरु आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेपछि अहिले यी चकलेटी अभिनेता चर्चामा छन् ।

सानो कद्का प्रेम ‘प्रेमगीत–३’ का लागि आफ्नो शरीरलाई बढाइरहेका छन् । जुन तस्वीरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । फिल्मकर्मी र दर्शकले उनले फिल्मका लागि गरेको मेहनतको निकै प्रशंसा गरिरहेका छन् । उनको यी तस्वीरपछि फिल्मलाई लिएर दर्शकमा उत्सुकता पनि बढेको छ ।

प्रदीप ‘प्रेमगीत–३’ लाई लिएर आफू निकै उत्साहित रहेको बताउँछन् । ‘प्रेमगीत’ को अघिल्ला दुई सिरिजमा उनी चुलबुले र रुन्चे भूमिकामा देखिएका थिए । यसपटक आफ्नो भूमिका दर्शकलाई फरक लाग्ने उनको भनाइ छ । फिल्ममा उनको बाल्यकालको भूमिका अनुभव रेग्मीले निभाउँदैछन् । भने, पिताको भूमिकामा अभिनेता शिव श्रेष्ठ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com