२ दिन पैदल हिडेर गाँजा फडानी गर्छन् तर प्रहरीकै लागि छैन रकम



प्रकाशित मिति : Sep 16, 2019
  • देवराज पन्त

मकवानपुर, भदौ ३० । सरकारले लागूऔषध नियन्त्रणमा ठूलो धनराशी तथा जनशक्ति परिचालन गर्दै आएको छ । लागूऔषध उत्पादन, बिक्री वितरण हुने क्षेत्रमा नियन्त्रण प्रयासका लागि अभियान पनि सञ्चालन गर्दै आएको छ ।

यसै सिलसिलामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा लागूऔषध गाँजाखेती नष्ट गर्ने अभियान अन्तर्गत राक्सिराङ, कैलाश, बकैया, मनहरी गाउँपालिकाहरुका विभिन्न स्थानमा लगाईएका गाँजा खेती नष्ट गरिरहेको छ । प्रहरीले समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागूऔषध नियन्त्रणमा जनसमुदायको भुमिका बारे स्थानीयहरुसँग छलफल पनि सँगसँगै गरिरहेको छ ।

त्यस्तै सो क्षेत्रमा गाँजा खेती नष्ट गर्ने क्रममा प्रचलित कानुनी कारबाही र लागूऔषधले समाजमा पार्ने नकारात्मक असरबारे जनचेतनामुलक पर्चा–पम्प्लेटसमेत वितरण गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकेशकुमार सिंहले बताएका छन् ।

विशेष गरी प्रहरी प्रशासनको पहुँच भन्दा टाढा झण्डै २ दिनको पैदल दुरीमा गाँजा खेती हुने गरेको छ । जिल्ला सदरमुकामबाट सो क्षेत्रमा अहिले पनि दर्जनौँ प्रहरी परिचालित छन् । अघिल्लो आर्थिक बर्षमा लागूऔषध नियन्त्रणका लागि आएको प्रदेश सरकारको बजेट खर्च नगरी तेत्तिकै फ्रिज भएको थियो ।

तर ती क्षेत्रमा खटिने प्रहरीका लागि राज्यबाट कुनैपनि सुविधा नरहेको जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले बताएका छन् । सो क्षेत्रमा खटिने प्रहरीका लागि अघिल्लो आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यालयबाट ५० हजार रुपैयाँ मात्रै आफूहरुले पाएको तर यस बर्ष सो समेत नआएको र जिल्लामा आएको स्टेशनरी, मसलन्द जस्ता शीर्षकहरुबाट प्रहरीका लागि चामल दाल किनेर पठाउने गरेको एसपी सिंहले बताएका छन् ।

विकट क्षेत्र भएकाले प्रहरीले आवश्यक खाद्यान्न लगायत सबै सामग्री आफैले बोकेर लग्ने गरेको पनि उनको भनाई रहेको छ । एकपटक गएका गएका प्रहरी हप्तादिन सम्म सो क्षेत्रमा बस्ने र सो पछि अर्को टोली जाने गरेको छ ।

हिजो मात्रै मकवानपुरका प्रमुख एसपी मुकेशकुमार सिंहको नेतृत्वमा राक्सिराङ गाउँपालिका वडा नम्बर–२ को कालीधाप, चनौटा र निगरान भन्ने स्थानमा रहेको करीब ३ बिगाहा २ कठ्ठा जग्गामा लगाईएको गाँजाका बोटहरु नष्ट गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ७५ जनाको प्रहरी टोली लागूऔषध गाँजा लगाइएको क्षेत्रमा रहेका छन् । सो क्षेत्रका सबै गाँजा खेती नष्ट गर्न प्रति समूह १५ जनाको बनाएर ५ दिनसम्म सो क्षेत्रमा खेती नष्ट गर्ने कार्यका लागि परिचालन गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com