अब समाजका मुद्दाहरुलाई लिएर पार्टीहरुले एजेण्डाहरु बनाउन जरुरी : कांग्रेस नेता प्रदीप पौडेल



प्रकाशित मिति : Sep 15, 2019

काठमाडौं । नेपालको राजनीतिमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको रुपमा उभिएको छ । यसले चुनावी समीक्षा गर्ने, चुनावलाई जोडेर हेर्ने, संसदको गणितको आधारलाई मान्ने हो भने कांग्रेस बिनानै केन्द्रीय संसदमा, प्रदेश संसदहरुमा दुई तिहाई पुग्ने स्थिति छ । यसै विषयमा न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’मा टिभी जर्नलिष्ट प्रदीपराज दाहालसंग कुराकानीगर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भन्नुभयो–‘कांग्रेसको उपस्थितिको सन्दर्भमा गणितीय पक्षसँग जोडेर हेर्दा कमजोर छ । त्यस कारणले हामीले संगठनलाई चुस्तदुरुस्त बनाउन आवश्यक छ । अबको चुनावलाई मुख्य लक्ष्य बनाएर अगाडि बढ्न जरुरी छ ।’

उहाँले थप्नुभयो–‘संसदीय व्यवस्थामा निर्वाचनमा प्रतिष्पर्धा गरेर जित्ने हैसियत निर्माण गर्न आवश्यक छ । त्यसको लागि भने हामीलाई संगठन निर्माण गर्ने अवसर प्राप्त भएको छ । हामी सरकारमापनि छैनौं । प्रदेश सरकारमा पनि छैनौं । सरकारमा बसेर समय दिनुपर्ने अवस्था पनि छैन । त्यसैते अहिले सम्पूर्ण समय संगठनलाई दिनुपर्छ । नयाँ शिराबाट कांग्रेस अगाडि बढ्नुपर्छ । कांग्रेस सच्चिएको सन्देश हामीले बाहिर दिन सक्नुपर्छ ।’

समग्रमा अहिलेका राजनीतिक दलहरुले आफूलाई सच्याउनुपर्ने नेता पौडेलको भनाइ छ । आफ्ना एजेण्डाहरुलाई फेर्नुपर्ने बताउँदै नेता पौडेलले भन्नुभयो– ‘अहिले राजनीतिको सन्दर्भ नै फेरिएको छ । अहिले बहुदल ल्याउनका लागि, लोकतन्त्र ल्याउनका लागि संघर्ष गर्नुपर्ने अवस्था छैन । हामीले टार्गेटनै समृद्धिलाई बनाएका छौं । समाजका मुद्दाहरुलाई लिएर पार्टीहरुले आफ्ना एजेण्डाहरु बनाउन जरुरी छ । त्यसैले हाम्रो प्राथमिकताहरु परिवर्तन गर्नुपर्छ ।कांग्रेस भन्ने पार्टी लोकतन्त्रका लागि मात्रै हो भनेर बुझिनु हुँदैन । लोकतन्त्रसहित कांग्रेस भन्ने पार्टी आर्थिक समृद्धिका लागि हो, मुलुकका बिकासका लागि हो, युवाको रोजगारीका निम्ति हो, भन्ने हिसाबबाट बुझिने अवस्था निर्माण गर्नुपर्छ ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com