प्रदेशको अधिकार कुण्ठित गर्नेगरी केन्द्र सरकारले ल्याएका विद्येयकहरुको एकमुष्ट खारेजीको लागि अदालत जान्छौं : मुख्यमन्त्री राउत



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौं, २६ भदौ । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कुण्ठित गर्नेगरी केन्द्र सरकारले ल्याएका विद्येयक तथा ऐनहरुको एकमुष्ट खारेजीको लागि आफूहरु सर्वोच्च अदालत जाने चेतावनी दिनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताउनुभयो ।

राउतले संघीय सरकारले आफूलाई माथि पारेर विभिन्न ऐन, कानून तथा विद्येयकहरु ल्याएकोमा तीव्र असन्तुष्टि पोख्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानले दिएको प्रदेशको अधिकारपनि कटौती गर्नेगरी केन्द्र सरकारले कदम चालिरहेको छ । सागरनाथ वनको सवालमा पनि अहिले प्राधिकरण गठन गरेर वनलाई आफ्नो मातहातमा राख्न खोजिरहेको छ । यो हामीलाई मान्य छैन् । हामीले यो प्रकरणमा केन्द्र सरकारलाई जवाफ दिनको लागि पनि भर्खरै सागरनाथमै हाम्रो प्रदेशको मन्त्रिपरिषदको बैठक राख्यौं ।’

आयोजित साक्षात्कारमा बोल्दै उहाँले केन्द्र सरकारले ल्याएका संविधानविरोधी विद्येयक तथा ऐन र कानूनहरु आफूहरुलाई मान्य नहुने भन्दै केन्द्र सरकारबाट भएका त्रुटीहरु सच्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेपनि केन्द्रका शासकहरुमा हिजोकोजस्तै मानसिकता छ । केन्द्र सरकारबाट भएका त्रुटीहरु सच्याउनुपर्छ । हामी प्रदेशको अधिकार खोस्ने विद्येयकहरुलाई एकमुष्ट रुपमा खारेजी गर्नको लागि तयार गर्छौं ।’

उहाँले संविधानले राष्ट्रिय वनको सवालमा यो अधिकार प्रदेश सरकारलाई दिएकोमा केन्द्र सरकारले गलत तवरले आफ्नो मातहातमा राख्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘संघले जंगल मास्न खोजिरहेको छ । हामी कुनैपनि हालतमा मास्न दिँदैनौं । जंगल मासियो भने मधेश समाप्त हुन्छ । त्यसैले हामी मधेश बचाउन तयार छौं । मधेश बाँच्यो भनेमात्रै देश बच्छ । चुरेको दोहन हुन दिँदैनौं ।’

मुख्यमन्त्री राउतले अहिलेपनि केन्द्र सरकारले प्रदेश सरकारलाई जसरी सहयोग गर्नुपर्नेथियो त्यो अनुसारको सहयोग नगरेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले संघबाट राम्रो सहयोग पाएनौं ।’ अहिले प्राप्त भएका गणतन्त्र, संघीयता, समानूपातिक–समावेशितालगायतका कुराहरु ठूला उपलब्धि भएको बताउँदै उहाँले यसको रक्षाको लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि धारणा राख्नुभयो ।

उहाँले मुलुकको विकास र समृद्धिको लागि आफूहरु अहोरात्र खटिरहेको स्पष्ट पार्नुभएको छ । यसको लागि काम गर्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, ‘अहिलेपनि प्रदेशस्तरमा काम गर्न गाह«ो छ ।’ आफूहरुले सीमित साधन र स्रोतका बावजुदपनि विकास र समृद्धिको लागि युद्धस्तरमा काम गरिरहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री राउतले जनताका आकांक्षाअनुसार आफूहरुले काम गरिरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘म त मेरो कामबाट सन्तुष्ट छु ।’ राउतले संघीयतालाई कार्यान्वयन गर्नको लागि संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संविधानअनुसार अधिकार दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आफूहरु कतिपय अवस्थामा काम गर्ने ईच्छुक हुँदाहुँदैपनि गर्न नसकेको गुनासो पोख्नुभयो ।

उहाँले अपेक्षित काम हुन नसकेको भने स्विकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले छोटो अवधिमा विकास निर्माणका लागि राम्रै प्रयास गरिरहेका छौं । वर्षौसम्म केन्द्र सरकारको उपस्थित् नभएको ठाउँमा हामी पुगेका छौं । जहाँ केन्द्र सरकारको ध्यान पुगेको छैन, त्यहाँ हामी पुगेका छौं ।’

उहाँले आफूहरुको प्रयासलाई अहिल्यै नै मूल्यांकन गर्न नमिल्ने सुझाउनुभयो । उहाँले आफूहरुले लोकसेवा आयोग गठन गरिसकेकोले अब छिट्टै प्रदेशमा कर्मचारी भर्ना गर्ने सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘अब हामी कर्मचारी भर्ना प्रक्रिया अघि बढाउँछौं । यसले हामीलाई काम गर्न सहजता हुन्छ ।’ त्यस्तै, उहाँले प्रदेश निजामती सेवा आयोग अबको एक÷दुई हप्ताभित्र गठन गर्ने जनाउनुभयो । आगामी पाँच वर्षभित्र प्रतिफल आउनेगरि काम हुने उहाँको विश्वास छ ।

मुख्यमन्त्री राउतले आफू कामबाट पूर्ण रुपमा सन्तुष्ट रहेको सुनाउँदै प्रदेशमा काम नै भएन भनेर काठमाडौंबाट टिकाटिप्पणी गर्न नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘गाउँ गाउँमा ढलौट रोड बनेका छन् । स्कुल र अस्पतालहरु धमाधम निर्माण भैरहेका छन् ।’ यद्धपी उहाँले यो आर्थिक वर्षमा आफूहरुले ठूला आयोजना ल्याउन नसकेको स्विकार्नुभयो ।

मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थमा गैसकेकोले अब यो प्रणालीलाई बलियो बनाउनतर्फ सबै लाग्नुपर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, ‘मुलकुमा अब नयाँ प्रणाली सेट–अप भैसक्यो, यो सिष्टमलाई मजबुद बनाउनु आजको आवश्यकत्ता हो ।’ उहाँले कुनै पनि तहबाट यो व्यवस्थामाथि अप्ठ्याराहरु खडा गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि हर्डल्स खडा गरियो भने समृद्धि हाँसिल गर्न सकिँदैन् ।’

राउतले संविधान संशोधन हुनेमा आफूहरु आशावादी रहेको प्रतिक्रिया दिनुभयो । ‘यो संविधानलाई सबैको अपनत्व भएको बनाउनुपर्छ’,–राउतले भन्नुभयो, ‘तर, अहिले संविधान सबैको हुन सकेको छैन् । सुरुदेखि नै हाम्रो पार्टीको यो संविधानप्रति असन्तुष्टि थियो । तर, हामी संविधान संशोधन गराउने मुख्य उद्देश्यसहित सरकारमा सहभागी भएका हौं ।’

उहाँले संविधानमा भएका सबैखाले त्रुटीहरु सच्याउनको लागि अब ढिलाई गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यो संविधानलाई सबैले अपनत्व गर्नुपर्छ । यसको लागि प्रधानमन्त्रीले पनि हामीलाई संशोधनको आश्वासन दिनुभएको छ । मसँगको भेटवार्तामा पनि उहाँले संविधान संशोधनबारे आश्वासन दिनुभएको छ ।’


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com