प्रदेश-२ मा डेङ्गुबाट १ जनाको मृत्यु, ७३ जना अस्पतालमा



प्रकाशित मिति : Sep 12, 2019
  • घनश्याम मिश्र

भाद्र २६, जनकपुरधाम । प्रदेश २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।

प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेङ्गु सङ्क्रण भेटिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा ७, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेङ्गु सङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताउनुभयो ।

बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने दिउँसो सो सङ्ख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो ।

प्रदेशका सबै जिल्लामा डेङ्गुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन् । सङ्क्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।

दुई वर्ष पहिला २०७४ को हिउँदमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेङ्गु आतङ्क नै छाएको थियो । त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेङ्गु प्रभावित भएका थिए ।

डेङ्गु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि फुल पार्ने र वरपरका झाडीमा फैलनसक्ने भएकाले घरप्रयोजनको पानी राम्ररी छोप्न र वरपर सफा राख्न बर्दिवास अस्पतालका चिकित्सकले अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com