१ हजार १६ पिस टप्स बरामद



प्रकाशित मिति : Sep 12, 2019
  • मनोरञ्जन शर्मा,

रुपन्देही, २६ भदौ । चाडपर्व नजिकिँदै जाँदा अवैध रूपमा चोरी निकासी गर्ने क्रम बढेको छ । चोरी निकासी गर्दै अवैध रूपमा सामान ल्याउने क्रम फेरि बढ्न थालेपछि सुरक्षा निकायले पनि सकृयता बढाउन थालेको छन् । यसै क्रममा बुधबार बेलुका साढे ५ बजे ठूलो परिणाममा लेडिज टप्स बरामद भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ डण्डा पुल नजिकैको भन्सार सुरक्षा गस्तीले चेकजाँचको क्रममा बा ७ च ५९५४ नम्बरको मारूती सुजुकी कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा १ हजार १६ पिस टप्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म हेड क्वाटर (राजस्व भन्सार सुरक्षा)का गुल्मपति डिएसपी गोबिन्द बहादुर खातीको कमाण्डमा रहेको टोलीले चेकजाँचका क्रममा उक्त परिणामका पोशाकहरू बरामद गरेको हो । बरामद सबै सामानको भन्सार तिरेको कागजातहरू, प्रज्ञापन–पत्र केही नभएपछि भैरहवा भन्सार कार्यालय चलान गरेको खातीले बताए ।

बरामद सामानको मूल्यांकन १ लाख ५२ हजार ४ सय कायम गरिएको छ । सामानसहित ढुवानीमा प्रयोग भएको सवारी साधनको १२ लाख मूल्य कायम गरी भन्सार चलान भएको छ । सवारी चालकलाई समेत नियन्त्रणमा लिई भन्सार कार्यालय चलान गरिएको जनाइएको छ । उक्त सामानहरू सीमावर्ती भारतीय बजार सुनौलीबाट खरीद गरी नेपाली बजारमा विक्रीका लागि ल्याइँदै थियो । तस्करले प्रहरीको आँखा छलेर अवैध सामान नेपाल भित्रयाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com