धरानमा ‘यू–१४ एन्फा एकेडेमी कप’ हुने



प्रकाशित मिति : Sep 12, 2019
  • सन्तोष काफ्ले,

सुनसरी, २६ भदौ । प्रथम ‘एन्फा एकेडेमी कप अण्डर–१४’ एक नम्बर प्रदेश स्तरिय फुटबल प्रतियोगिता २०७६ धरानमा हुने भएको छ । धरानमा रहेको एन्फा एकेडेमी सञ्चालक समितिको आयोजनामा शुक्रबारदेखि धरान स्थित धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।

आयोजकले विहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले यही भदौ २७ गतेदेखि असोज ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो । एन्फा एकेडेमी सञ्चालक समितिका अध्यक्ष किशोर राईका अनुसार एन्फा एकेडेमीले प्रशिक्षण गराइरहेका १० वटा क्लबले प्रतियोगितामा भाग लिनेछन् ।

प्रतियोगिताले एकेडेमीमा भएका खेलाडीहरुको प्रतिभामा निखार आउने तथा अव प्रत्येक जिल्लामा समेत एकेडेमी सञ्चालन गरिने बताउदै एकेडेमी सञ्चालक समिति अध्यक्ष किशोर राईले प्रतियोगितापछि प्रदेश नम्बर १ का सबै जिल्लाहरुमा होम एण्ड ओए को आधारमा मेत्रिपूर्ण खेलहरु समेत हुने बताए ।

प्रतियोगितामा सुनसरीको एन्फा एकेडेमी धरान, महेन्द्र फुतबल एकेडेमी दुहबी, राष्ट्रिय जागृति क्लब फुटबल एकेडेमी इटहरी, धरान फुटबल क्लब एकेडेमी धरान, न्यू स्टार फुटबल एकेडेमी भरौल गरी ५ वटा टिम छन् भने मोरङबाट विराटनगर फुटबल एकेडेमी विराटननगर र एम्ब्रीय क्लब एकेडेमी रहेका छन् ।

त्यस्तै गरी मेचि नेत्रालय झापा, उदयपुर जिल्ला फुटबल टिम उदयपुर र श्रीमार्गदेवी युवा क्लब धनकुटाले सहभागीता जनाउने भएका छन् । एन्फाका मानार्थ उपाध्यक्ष समेत रहेका राईले यस पटक एन्फा एकेडेमी धरानका खेलाडीहरु विभिन्न प्रतियोगितामा भाग लिन विदेश समेत जाने भन्दै आगामी वर्षदेखि प्रतियोगिताको विजेतालाई समेत विदेशमा खेल्ने अवसर प्राप्त हुने बताए ।

जसले गर्दा नेपालको फुटबल विकासमा प्रतियोगिता महत्वपूर्ण हुने विश्वास समेत उनले व्यक्त गरेका छन् । प्रतियोगिताको विजेता टिमलाई नगद ५० हजार, दोस्रो हुने टिमलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक समिति सचिव प्रताप तामाङले बताए । त्यस्तै गरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५ हजार नगद, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड जनही नगद ३ हजार र उत्कृष्ट कोचलाई नगद रु ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकार, एन्फा, विराटनगर महानगरपालिका, दुहबी, लेटाङ, इनरुवा, रामधुनी नगरपालिका तथा धरान उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com