मोडेल फार्म स्थापना गर्न बाग्लुङमा डेढ करोड रकम विनियोजन



प्रकाशित मिति : Sep 12, 2019
  • रबिना बोहरा

बाग्लुङ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङले मोडेल फार्म स्थापना गर्न डेढ करोड रुपैँया भन्दा बढी रकम विनियोजन गरेको छ ।

कार्यालयले आर्थिक बर्ष ०७६\७७ को कार्यक्रम सार्वजनिकरण गर्दै मोडेल फार्म स्थापना गर्नका लागि १ करोड ६० लाख रुपैँया बिनियोजन गरेर काम अगाडी बढाइसकेको बताएको छ ।

मोडेल फार्मका लागि हाल सम्म बागलुङ र पर्वत जिल्लाका गरी ३ सय ५८ वटा निवेदन दर्ता भएको छ । कार्यालयमा आएको कुल बजेटको ५० प्रतिशत भन्दा बढी रकम यही कार्यक्रमका लागि बिनियोजन भएको बरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो ।

२० वटा फार्मका लागि बजेट बिनियोजन भएको भएपनि मन्त्रालय संग समन्वय गरी ३२ वटा सम्म छनौट गर्न सक्ने व्यवस्था मिलाउने पाण्डेले बताउनुभयो ।

पुँजीगत खर्चका लागि १७ लाख १० हजार र चालु खर्चका लागि ३ करोड ९४ लाख ७४ हजार रुपैँया बिनियोजन भएको पनि सो अवसरमा जानकारी गराइएको छ ।

यस्तै कार्यालयले यस बर्ष नयाँ कार्यक्रममा पाडा हुर्काउने कार्यक्रम समावेश गरेको छ । यसका लागि ५ लाख रुपैँया बिनियोजन भएको छ ।

यस्तै पशु स्वास्थ्य कार्यक्रममा पुर्ण खोपयुक्त वडा घोषणाका लागि १४ लाख, पिपिआर रोग विरुद्धको खोप लगाउन ११ लाख, औषधी खरिदका लागि ४ लाख ५० हजार, पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविरमा ४ लाख ५० हजार रुपैँया रहेको छ । यस्तै वर्ड फ्लु सर्भिलेन्स तथा नमुना संकलन, रानीखेत रोग विरुद्धको खोप सञ्चालन लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

यस्तै पशु आहारा कार्यक्रमका लागि १३ लाख ५० हजार, पशु प्रजनन तथा नश्ल सुधारका लागि ९ लाख ५० हजार, मत्स्यविकास कार्यक्रममा ९ लाख ५० हजार, पशुपंक्षी बजार प्रबद्र्धन कार्यक्रममा ७ लाख ५० हजार शुशासन र व्यवस्थापनका लागि १५ लाख रुपैँया, सीप विकास तथा जनचेतना तालिम, गोष्ठीका लागि १६ लाख २५ हजार रुपैँया छुट्याएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com