चीनले १६ अमेरिकी सामानमाथि लगाएको कर फिर्ता गर्ने, तनाव मत्थर हुने संकेत



प्रकाशित मिति : Sep 12, 2019

काठमाडाैँ । चीनले १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ। दुवै देशबीच अर्को महिना व्यापार वार्ता हुनअघि चीनले यस्तो कदम चालेको हो ।

यी कर छुटहरू आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ। छुट हुने वस्तुको सूचीमा सामुद्रिक खाद्य सामग्रीहरू र क्यान्सर प्रतिरोधी औषधिहरू समेत रहेका छन्। यो कर छुट एक वर्षसम्म कायम हुनेछ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्वा्धिक चासोका रुपमा रहेको अमेरिकी सोयाबिन र सुँगुरको मासुको आयातमा लागेका करहरू यथावत छन्। भन्सार विभागले बुधबार जारी गरेको विज्ञप्तिमा अरु अमेरिकी सामानमा कर छुट गर्दै जाने जनाइएको छ।

दुवै देशबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार वार्तामा सहमति नभएपछि दुवै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन्। विश्व व्यापार र विश्व अर्थतन्त्रमै प्रभाव सिर्जना गरिरहेको यस व्यापार युद्धले विश्व बजारमा त्रासको वातावरण सिर्जना गरेको छ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गर्नुभएको थियो। अमेरिकातर्फ निकासी हुने कुल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ।

ट्रम्पको घोषणापछि बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो। सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com