सामाजिक सुरक्षा कोषमा धमाधम सूचीकृत हुँदै



प्रकाशित मिति : Sep 11, 2019

काठमाडौं । रोजगारदाता र श्रमिक धमाधम सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन थालेका छन् । कोषका अनुसार आज अपराह्नसम्म ५० हजार १४० श्रमिक सूचीकृत भइसकेका छन् ।सूचीकरणका लागि तोकिएको समयसिमा नजिकिँदै गर्दा आबद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ ।

कोषमा ठूला रोजगारदाताले पनि आफूलाई सूचीकृत गराउन थालेको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिनुभयो । अपराह्नसम्म कोषमा चार हजार ७९० रोजगारदाता आबद्ध भइसकेका छन् । कोषमा आवद्ध भइसकेका रोजगारदाताले धमाधम आफ्ना श्रमिकलाई सूचीकृत गराउन थालेका कोषले जनाएको छ । नेपालको ठूला व्यावसायिक घरानाको आबद्धताले छुट्टै आशा जगाएको कोषको भनाइ छ । सूचीकृत हुने समयावधि असोज मसान्तसम्म रहेको छ ।

हालसम्म कोषमा चौधरी गु्रप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर, जिफोरएससहित ११७ आउटसोर्सिङ कम्पनी, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज सूचीकृत भइसकेका छन् ।

त्यस्तै नर्भिक अस्पताल, आम्दा नेपाल, सानीमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, साङ्ग्रीला होटल, शंकर गु्रप, यति डिष्टीलरी, ट्रिनटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज ९विभिन्न क्षेत्रमा हजारौं प्राविधिक कर्मचारीलाई आउट सोर्सिङ गर्ने कम्पनी०, दराज डटकमलगायत हजारौँको सङ्ख्यामा श्रमिक भएका प्रतिष्ठान पनि सूचीकृत भइसकेका कोषले जनाएको छ ।

सूचीकरण प्रक्रियालाई सहज गराउन कोषले प्राविधिक सुधार गरेको छ । सम्पूर्ण श्रमिकलाई एकमुष्ठ रुपमा सूचीकृत गराउन सक्ने गरी प्रणालीको विकास गएिको छ ।

कोषले ठूला रोजगारदाताको मै कर्मचारी पठाएर श्रमिक सूचीकरणमा सहयोग गरिरहेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो । बढीभन्दा बढी रोजगारदाता र श्रमिकलाई योजनामा सहभागी गराउन कोषले बहुपक्षीय छलफललाई समेत तीव्रता दिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com