सरकारको रवैयाका कारण मुलुक खतरनाक अवस्थामा पुग्दै : महामन्त्री कोइराला



प्रकाशित मिति : Sep 11, 2019

चितवन । नेपाली काँङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकार अहिले एकतन्त्रीय शासनतर्फ लागेको आरोप लगाउनुभएको छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ् व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभाको बुधबार गैंडाकोटमा उद्घाटन गर्दै उहाँले सरकार दुई तिहाईको दम्बका साथ एकतन्त्रीय शासन चलाउन खोजेको बताउनुभयो ।

उहाँले सरकारको अहिलेको रवैयाका कारण मुलुक अत्यन्त खतरनाक अवस्थामा पुग्ने र बचाउन नसकिने हुँदा यसबाट रोक्नका लागि काँग्रेस सचेत रहेको उहाँको भनाइ थियो । कोइरालाले प्रधानमन्त्री ओलीले सम्पूर्ण कुरा आफ्नो हातमा लिन खोजेकोसमेत बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले सरकारले संविधानलाईनै तोडमोड गर्न खोजेको आरोप समेत लगाउनुभयो ।

साधारण सभामा बोल्दै व्यवसायीहरुले सरकारले प्यान नम्बर बिना तलब दिन नहुने नीति ल्याएको भन्दै यसको विरोध गरेका छन् । यस नीतिले पहिलो मारमा क्याटरिङ् व्यवसाय पर्ने भन्दै उनीहरुले दैनिक रुपमा थपघट भइरहने कर्मचारीको हकमा यो लागू हुन नसक्ने बताए ।

महासंघका अध्यक्ष लीला बहादुर जिसीले देशभर रहेका जनप्रतिनिधिहरुबाट पहिला यो कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । जनप्रतिनिधिहरुले प्यान नम्बर लिएर मात्रै अन्यलाई लगाउनुपर्ने उहाँका भनाइ थियो ।

सो अवसरमा गैडाकोट नगरपालिकाका प्रमुख छत्र पौडेल, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग संघ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेल, महासंघका सल्लाहाकार प्रभाकर पण्डित, प्रा.डा. हरिहर पोख्रेल, देवेन्द्ररत्न शाक्य लगाएतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com