कास्की प्रहरीलाई सहयोग गर्दै अपहरणको धन्दा चलाउँदै !



प्रकाशित मिति : Sep 11, 2019
  • उत्तम पौडेल,

पोखरा । पोखराका एक ब्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई हिरासतमा लिएको छ । मिटर ब्याजमा पैसा लगानी गरेर लाखौ असुली गर्ने र तिर्न नसक्ने भएपछि ज्यान मार्ने धम्की दिने, कुटपिट गर्ने र अपहरण गरेर जबरजस्ती पैसा असुली गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ६ बस्ने बर्ष ४५ को जीवन भन्ने रत्न बहादुर कार्कीलाई आज बिहान करीब ११ बजेको समयमा पोखराको ग २ च २७४९ नं को कारमा २ जना अपहरणकारी बासुदेव थापा र प्रेम बहादुर कार्कीले जर्बजस्ती गाडीमा हालेर एक ठाउँबाट अर्काे ठाउँमा लाँदै गरेको र ग १२ प ९८५७ नं को मोटरसाइकलमा रोहित सुनार र गौतम थापाले त्यसलाई स्कटिङ गरेको प्रहरीमा सूचना आएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीको नेतृत्वमा गएको टोलीले पोखरा ९ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १५ बस्ने गौतम थापा, पोमनपा वडा नं ८ का बासुदेव पोखरेल, वडा नं १० का प्रेम बहादुर थापा र वडा नं २ का रोहित सुनार रहेका छन् । उनीहरुले पीडित थापालाई पटक–पटक पिट्ने तथा ज्यान मार्ने धम्की दिँदै आएका थिए, भने अपहरण गरेको जिल्ला पहरी कार्यालय कास्कीका प्रमुख एसपी दान बहादुर कार्कीले बताए ।

रत्न बहादुर थापालाई १६ लाख रुपैयाँ सापटी दिएको र उनीबाट पटक–पटक गरेर ३ करोडसम्म लिइसकेको पीडितले बताएका छन् । पीडितका अनुसार आफूलाई सापट पैसा दिएको र ५० औ गुणा ब्याज माग्ने गरेको र आफूले बुझाउँदै आएको बताएका छन् । पटक–पटक यसरीनै अपहरण गर्ने र ज्यान मार्नेसमेतको धम्की उनीहरुले पीडितलाई दिँदै आएका पीडितले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा भर्खरै मात्रै बनाइएको ब्यायामशाला हाल अपहरणका मुख्य नाइके मानिएका गौतमले आर्थिक सहयोग गरेको खुल्न आएको छ । यसबाट पनि गौतम थापा र कास्की प्रहरी बीचको निकटता स्पष्ट भएको छ । यस भन्दा अगाडिका कास्कीका प्रहरी प्रमुख ओम रानाको कार्यकालमा सो जिम हल बनाइएको थियो ।

जसमा जिम हल समितिको अध्यक्षमा ओम राना छन् भने उपाध्यक्षमा गौतम थापा रहेका छन् । यसरी हेर्दा गौतम थापा प्रहरीका हाकिमहरुसँग नजिक हुने र मिटर ब्याज तथा अपहरण जस्ता क्रियाकलाप प्रहरीको छायाँमा गर्दै आएको होकि भन्ने आशंका पैदा भएको छ । पक्राउ परेका ४ जना हाल कास्की प्रहरीको हिरासतमा रहेको छन् ।

यसरी पोखरामा बढ्दै गएको मिटर ब्याजका कारण हजारौंको घरबार विहीन हुने स्थिति आएको हुँदा स्थानीय प्रशासनले बेलैमा सोच्ने कि ?


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com