कम्युनिष्ट सरकारले एकदलीय शासन लाद्न खोजेको कांग्रेस सभापति देउवाको आरोप



प्रकाशित मिति : Sep 11, 2019
  • सन्तोष काफ्ले,

सुनसरी, २५ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले एकदलीय शासन व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेस धरान उपमहानगर समितिको दोस्रो नगर सभालाई बुधबार धरानको भानुचोकमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले जनताले लामो समयसम्म आन्दोलन गरेर ल्याएको परिवर्तन कम्युनिष्ट सरकारले एकदलीय शासन व्यवस्था ल्याउन लागेको भन्दै त्यसविरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सरकारले विधेयकको नाममा स्वतन्त्रता खोस्न खोजेको, मिडिया काउन्सिल विधेयकमा समाचार लेखेकै आधारमा जेल भोग्नुपर्ने र ठूलो रकम जरिवाना तिर्नुपर्ने व्यवस्था राखेको वताउदै सभापति देउवाले मानव अधिकार आयोगसँगै संवैधानिक निकायहरुसमेत कब्जा गर्ने वर्तमान सरकारको रणनीति भएको आरोप लगाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सबै क्षेत्रमा कब्जा गर्दै एकदलीय सर्वसत्तावादी शासन ल्याउन लागेको बताए ।

देउवाले मानव अधिकार आयोगलाई समेत सरकारले नियन्त्रणमा राखेको भन्दै कम्युनिष्ट सरकारले जनताको अधिकार खोस्दै लगेको छ । यसलाई फर्काउन आन्दोलन गर्नुपर्ने आवश्यकता आउन सक्ने बताए । देउवाले कम्युनिष्ट सरकारले जनताका अधिकार खोसेर एकदलीय शासन लाद्न खोजेको भन्दै त्यसका विरुद्ध सबै एक भएर लाग्नुपर्ने बताउदै अब हुने उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुपर्ने बेला आएको बताए ।

उनले अब हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसलाई जिताएर उज्यालो छर्न आवश्यक रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दा अधिकांश समय धरानमा हुने उपनिर्वाचनमा केन्द्रित भएका देउवाले धरानमा कांग्रेसले यसपटकको चुनावमा जित हाँसिल गर्ने दाबी गरे ।

उनले धरानमा कांग्रेसले मेयरको चुनाव जितेर आगामी निर्वाचनका लागि शुभ संकेतको सुरुवात हुने समेत बताए । कांग्रेसका उपसभापति विजयकुमार गच्छेदारले धरानमा कम्युनिष्टको जगजगी भएको बेलासमेत आफूले कांग्रेसको संगठन गरेको स्मरण गर्दै अहिले कांग्रेसले धरानमा चुनाव जित्ने अवस्था आएको भन्दै खुसी व्यक्त गरे । गच्छेदारले सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र हुँदा ३ वटामा जित्ने र ५ वटा हुँदा ४ वटामा चुनाव जित्दा समेत धरान क्षेत्रमा चुनाव जित्न नसकेको बताउदै अब धरानमासमेत चुनाव जितेर कांग्रेसले इतिहास रच्ने दाबी गरे । धरानमा चुनाव जितेर प्रधानमन्त्री भएका मनमोहन अधिकारीले पनि धरानलाई केही नगरेको भन्दै गच्छेदारले कांग्रेसले धरानमा कहिल्यै चुनाव नजिते पनि धरानको प्राण भर्ने गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेस धरानका सभापति तिलक राईले सबै पार्टी एक भएर धरानमा चुनाव जित्ने बताए ।

चुनाव जितेर धरान उपमहानगरपालिकामा कांग्रेसले सामूहिक नेतृत्व गर्ने समेत बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मा, पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री प्रकाशशरण महत लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com