पूर्वाधार सम्मेलन : ‘ठूला पूर्वाधारमा लगानी गर्न आग्रह’



प्रकाशित मिति : Sep 11, 2019

काठमाडाैं । सरकारले मुलुक लामो समयको सङ्क्रमणकालपछि राजनीतिक स्थायित्वसँगै समृद्धिको मार्गमा लम्किरहेकाले नेपालमा ठूला पूर्वाधारमा लगानी गर्न आग्रह गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा राजधानीमा भएको ‘नेपाल पूर्वाधार सम्मेलन, २०१९’ अन्तर्गतको ‘पूर्वाधार र क्षेत्रीय सम्पर्क सञ्जाल’ विषयको सत्रलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक तथा बाह्य लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताउनुभयो । लगानी र विकासको हिसाबले नेपाल जवानीको अवस्थामा प्रवेश गरेको उहाँको भनाइ थियो ।

मुलुकको समृद्धि सबै राजनीतिक दलको आकाङ्क्षा भएको उल्लेख गर्दै उहाँले लगानीका लागि कुनै समस्या नभएको बताउनुभयो । सरकारले ठूला पूर्वाधार निर्माणमा विशेष जोड दिएको सन्दर्भ पेश गर्दै उहाँले पाँच वर्षभित्र बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी भए पनि निर्माण सम्पन्न गरिने बताउनुभयो ।

नेपालको हवाई क्षेत्रलाई विश्वस्तरीय बनाउन सरकारले विभिन्न कदम चालेको बताउँदै उहाँले हवाई सुरक्षामा कुनै सम्झौता नगर्ने प्रष्ट पार्नुभयो । “अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० ले गरेको ‘सेफ्टी अडिट’मा नेपालले ६० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेको छ”, उहाँले भन्नुभयो, “हवाई क्षेत्रलाई थप सुधार गर्न विभिन्न कदम अगाडि बढाइएको छ, हवाई पूर्वाधारमा लगानी बढेको छ ।”

नेपालमा हवाई यात्रुको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै उहाँले निकट भविष्यमै दुई ओटा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो । त्यस्तै उत्तरदक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्व–पश्चिम जोड्ने चारवटा राजमार्गको निर्माण अघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने बताउनुभयो ।

यातायातलाई भरपर्दो र विश्वसनीय बनाउन नेपालले अधिकतम् प्रयास गरेको जानकारी दिँदै मन्त्री भट्टराईले दशकौँपछि पानी जहाज कार्यालयको स्थापना गरेको बताउनुभयो । “स्पष्ट योजनाका साथ जलयातायातमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “रेल यातायातमा नेपाल केहीपछि परे पनि दक्षिण र उत्तरी छिमेकीले सहयोग गर्दै आएका छन् । निकट भविष्यमा रेल्वे सेवामा ठूलो प्रगति हासिल गर्ने अवस्थामा छौँ ।”

सडक सञ्जालमार्फत नेपाल र नेपालीलाई जोड्नका लागि सरकारले पूर्वपश्चिम, उत्तरदक्षिण जोड्ने सडक निर्माणमा ध्यान केन्द्रित गरेको उल्लेख गर्दै उहाँले तीव्र गतिमा पूर्वपश्चिम जोड्ने राजमार्ग निर्माण भइरहेको बताउनुभयो । उत्तरी छिमेकीमुलुकसँग सहज पहुँचका लागि उत्तरी नाका खोल्न कूटनीतिक पहल थालिएको उल्लेख गर्दै उहाँले चीनसँग सीमा जोडिएका क्षेत्रमा रहेका नौ वटा नाका खोल्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com