ओखलढुंगामा पनि डेंगु देखिन सक्ने भन्दै सतर्क रहन आग्रह



प्रकाशित मिति : Sep 11, 2019
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, २५ भदौ । मुलुकभर महामारीको रुपमा फैलिएको डेंगु रोग ओखलढुंगा पनि भित्रनसक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । जिल्ला जनस्वास्थय कार्यलय ओखलढुंगाले यातयातको सहज पहुँचसँगै डेंगु भित्रन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

एक नगरपालिका सहित आठ स्थानीय तह रहेको जिल्लामा सबै पालिकाहरुसँग समन्वय गरी अगाडि बढ्ने जिल्ला जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी गौरीशंकर देवले बताए । स्थानीय तहका स्वस्थ्य संयोजकहरुलाई डेंगुको संक्रमणबाट बच्ने उपायका बारेमा स्थानीय स्तरमै गएर जनचेतना जगाउन आग्रह गरिएको छ । स्वास्थ्य संयोजकहरुलाई बिद्यालय स्तरका बालबालिका तथा अभिभावकहरुलाई चेतना फैलाउन आग्रह गरिएको भएतापनि सुरु गरिएको छैन ।

स्वास्थ्य संयोजकहरुले बजेटको अभाव कारण जनचेतनाको कार्यक्रम गर्न नसकिएको बताउने गरेका छन् । तर डेंगु रोग सडकमार्गको सझज पहुँचसँगै अन्तरजिल्ला स्तरिय आवतजावतको माध्यमबाट सहझै भित्रन सक्ने देखिएको छ ।

डेंगु रोग लाग्दा एक्कासि उच्च ज्वरो आउने र उक्त ज्वरो ५ देखि ७ दिनसम्म रहने गर्दछ । साथै धेरै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने र शरीरमा विमिरा आउने गर्दछ । त्यस्तै डेंगुकै कारण वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने तथा बेहोश हुने जस्ता लक्षणहरु देखा पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने जिल्ला जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी गौरीशंकर देवले बताए । उनका अनुसार पानी जम्ने खाल्डाखुल्डीहरु गमला, फुलदानी, खाली बट्टा, खाली ड्रमहरू वा गाडीका काम नलाग्ने टायरहरू जस्ता स्थानमा पानी जम्न दिनुहुन्न ।

त्यस्तै पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने गर्नुपर्दछ । त्यस्तै यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकाले दिउँसो बस्दा शरीर ढाकिने लुगा लगाउनुपर्ने देवको भनाइ छ ।

सम्भव भएसम्म दिउँसो सुत्दा पनि अभिवार्य झुलको प्रयोग गर्नुपर्ने र साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्ने उनले बताए । त्यस्तै घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्नुपर्ने बताइएको छ । यसअघि ओखलढुंगा जिल्लामा कालाजार भने देखिसकेको छ ।

गत आर्थिक बर्षमा २ जनामा कालाजारका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यलयले जाएको छ । बिषेशगरी जिल्लाको मनेभज्याङ र सुनकोशी गाउँपालिका कालाजारको बढी जोखिमयुक्त क्षेत्र रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com