प्रधानसेनापतिद्वारा पहिलाे पटक सम्पति विवरण सार्वजनिक (सम्पति विवरणसहित)



प्रकाशित मिति : Sep 11, 2019

काठमाडौं, २५ भदाै : पारदर्शीतामा जोड दिँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएकाे छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएकाे हाे ।

थापाले आफूले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको उल्लेख गर्दै नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गर्नुभयाे ।

अन्य सैनिक सबैले सम्पत्ति विवरण सार्वजनिक गर्न सक्ने बताउँदै उहाँले भन्नुभयाे, ‘सम्पत्ति विवरण गोप्य राखिनेछ कसैले चाहनुहुन्छ भने सम्पत्ति सार्वजनिक गर्न सक्नुहुनेछ। राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएकाले सेनाभित्रको आर्थिक गतिविधि छानबिन नगरिएको हो। यसलाई दुरूपयोग नगरौं।’

सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता हुन्छ भन्ने आरोप लागेकोले अब त्यसबारेमा पनि छानबिन हुने उहाँले बताउनुभयाे । ‘सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता छ भन्ने आरोप छ म यसलाई सुधार गर्छु, सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ।’ थापाले भन्नुभयाे ।

उहाँले काठमाडौं, लम्जुङ, नवलपरासीलगायतका स्थानमा रहेको जग्गाको विवरण, सुन, चाँदी र हिराका गहना, बैंक, वित्तीय संस्थामा रहेको नगद, धितोपत्र, शेयरसहित बैंकबाट लिएको ऋणको पनि विवरण खुलाउनु भएकाे छ ।

थापाले श्रीमती दिपा थापा र छोरी रुरु थापाको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गर्नुभएकाे छ । थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी र करीब १० लाख रुपैयाँमा खरिद गरेको हिराको हार र औंठी रहेको विवरण सार्वजनिक गरेका छन् ।

उहाँले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेकाे गर्नुभएकाे हाे ।

याे भन्दाअघि प्रधानसेनापतिले यसरी कहिल्यै सम्पत्ति विवरण सार्वजनिक गरेकाे थिएन, थापा नै पहिलाे पटक सम्पति विवरण सार्वजनिक गर्ने प्रधानसेनापति हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com