दाताले दान गरेको मन्दिरको जग्गामा -याल चुहाउनेहरु बढेपछि विराटनगरमा बहस (भिडियो)



प्रकाशित मिति : Sep 07, 2019

शितलुदास राजवंशी र लक्ष्मी नारायण मन्दिर मोरङको प्रमुख जिल्ला अधिकारी अर्थात सिडियो परिवर्तन हुने वित्तिकै चर्चामा आउने नाम हो । विराटनगरमा रहेको यही लक्ष्मी नारायण मन्दिरका लागि करिब ८ बिगहा ११ कट्ठा ११ धुर जग्गा दान गरे शितलुले । अहिले यही दान गरेको जग्गामा धेरैको आँखा गाँडिएको छ । केही राजनीतिक दलले हडपेका छन् भने निजी क्षेत्र एवं विभिन्न व्यक्तिहरुले ९९ बर्ष सम्मका लागि भन्दै लिजमा लिएका छन् ।

मन्दिरमा नियमित पूजा चलाउन समस्या परिरहदा मन्दिरको नामको जग्गा शितलुको छोराको नाममा नभए आफुहरुको नाममा ल्याउन बिभिन्न संस्था तथा व्यक्तिहरु लागि परेका छन् । दान बकस गरिएको जग्गा जिल्ला प्रशासन कार्यालय मार्फत रहने हुँदा यो जग्गा सुरक्षित रहन सकेको छ नभए अन्य निकायको हातमा पर्दा यस्को लुछाचुडी भइसक्ने अवस्था देखिएको छ । तर अझै पनि खेल भने जारी छ ।

राजस्व र धर्मस्वमा आँखा गाड्ने कसैको पनि हित हुदैन । यो मान्यता हिन्दू धर्ममा विश्वासको धरोहरकोरुपमा उभिएको छ । हुन त परम्परागतरुपमा चलिआएको यो मान्यतालाई मिचेर अहिले गुठीको जग्गा धेरैले हड्पिसके । शितलुदास राजवंशीले सत्यनारायण मन्दिरका लागि दान गरेको जग्गामा अहिले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको ठाडो तोक आदेशमा तत्कालीन माओवादीको पार्टी कार्यालय पनि रहदै आएको छ । जो अहिलेसम्म ५ कठ्ठा जग्गामा अड्डा कसिरहेको छ । यस्तै मोरङ उद्योग संगठनले प्रदर्शनी स्थल बनाउने भन्दै २ विगहा जग्गा लिजमा ओगटेको छ ।

जग्गा ओगटदा उस्ले मन्दिरको पूजाआजाका लागि भन्दै मासिक ५ लिटर घिउ र ५ लिटर तेल दिने सहमति गरेको थियो । तर दुर्भाग्य मन्दिरमा पूजाआजाका लागि न तेल छ नत घिउ नै , त्यस्तै प्रसाद चढाउने पैसा नभएर पूजा नियमित गर्न समस्या परिरहेको छ । त्यस्तै विराटनगर महानगरपालिका, लायन्स क्लब ग्रिनसिटी , राजवंशी समाज र स्वयं सत्यनारायण मन्दिर सञ्चालक समितिका सभापति बल्लभ अधिकारी र बिभिन्न व्यक्तिले ९९ बर्षसम्मका लागि जग्गा लिजमा लिइसकेका छन् ।

यता मन्दिर भने जिर्ण बनेर ढल्न लागेको छ भने नियमित पूजाआजा प्रभावित बन्दा दानवीर शितलुदास राजवंशीका परिवार भने सुकुम्वासी बन्ने अवस्थामा पुगेका छन् । तर जिल्ला प्रशासन कार्यालयले भने अब जग्गाको खोजविन थालेको छ । जस्लाई विराटनरवासीले सकारात्मक मानेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com