चितवन अपडेट : अनुसन्धान फाइल सरकारी वकिलसामु पेश, आजै थुनछेक बहस सुरु हुने



प्रकाशित मिति : Aug 25, 2019
label
  • चितवन ब्युराे/न्युज २४

चितवन, ८ भदाै । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा बुझाएको हाे ।

प्रहरीले अनुसन्धानसहितको राय प्रतिवेदन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is rabi-and-yubaraj.jpg
file photo

प्रहरीले आत्महत्या र आत्महत्याका लागि दुरुत्साहन गरेको भन्ने विषयमा विभिन्न पक्षबाट प्रमाणसहित मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेश गर्नेछ ।

आज पत्रकार सम्मेलन गर्दै सीआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पूरा गरेको जानकारी दिए । सोही अनुरुप अदालतमा पेश गर्न लागिएको उनकाे भनाइ थियाे ।

उनले अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइसकिएको र आजै अभियोग पत्र दायर गर्न लागिएको जानकारी दिएका हुन् । आजैदेखि थुनछेक बहस सुरु हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जाहेरीवालाको तर्फबाट पाँचजना अधिवक्ताले बहस गर्ने तयारी छ । प्रतिवादीका तर्फबाट अधिवक्ता सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गर्ने तयारी छ ।

पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । लगत्तै परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले तीनजनाका कारण आफ्नो श्रीमानले आत्महत्या गरेको भन्दै कारबाहीका लागि किटानी जाहेरी दिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com