मूर्तिमा सुनको जलप लगाएर सुनको मूर्ति भन्दै महँगो मूल्य बेच्ने पक्राउ



प्रकाशित मिति : Aug 21, 2019

दाङ । बुद्धको मूर्तिमा सुनको जलप लगाएर सुनको मूर्ति भन्दै महँगो मूल्य बेच्ने गरेको आरोपमा दाङमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले दाङको राजपुर नाका हुँदै छिमेकी देश भारत गएर जलप लगाएको बुद्धको मूर्तिलाई ‘सुनको मूर्ति’ भन्दै महँगो मूल्यमा बेचेका थिए । मूर्ति बेचेर जिल्लाकै भैंसाही नाका हुँदै फर्कंदै गर्दा गोप्य सुराकीको आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवत्ता शाहका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँकेको कोहलपुर नगरपालिका–२ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पाको त्रिवेणी गाउँपालिका–९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोटको बारेकोट गाउँपालिका–८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेका छन् ।

प्रवक्ता शाहले बुद्धको मुर्ति काठमाडौँमा किनेर त्यसमा सुनको जलप लगाई दाङको नाका हुँदै भारतमा गएर झुक्याएर महँगो मूल्यमा बेचेको खुल्न आएको बताउनुभयो । उहाँले उनीहरु सबैलाई सुराकीको आधारमा पूर्वपश्चिम राजमार्गअन्तरगत दाङको लमही नगरपालिका–९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

“उनीहरुलाई रकम भागवन्डा गरिसकेर राजमार्ग क्षेत्रमा आ–आफ्नो घरतर्फ जान बस कुरिरहेको अवस्थामा पक्राउ गरिएको हो”, प्रवक्ता शाहले भन्नुभयो, “उनीहरुकै बीचबाट सूचना प्राप्त भएपछि प्रहरीलाई सजिलो भएको हो ।”पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर अनुसन्धान सुरु गरिएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com