३ भाद्र २०७६, मंगलवार

काठमाडौं । स्वदेशी उद्योगीसँग ८२ हजार मेट्रिकटन चिनी मौज्दात भएपनि सरकारले चाडबाडका लागि भन्दै आवश्यक चिनी आयात गर्ने तयारी गरेको छ । स्वदेशी उद्योगीसँग विश्वास गुमाएको सरकारले चिनी आयात गर्ने तयारी गरेपनि भन्सार दर, ढुवानी खर्च, भ्याट र विदेशी भुक्तानीमा लाग्ने करका कारण आयातकर्ताले चिनी आयातमा इच्छा देखाएका छैनन् ।

चिनी कति आवश्यक ?

  • – उद्योगीसँग करिब ८२ हजार मेट्रिकटन मौज्दात
  • – खुद्रा बजारमा करिब २५ हजार मेट्रिकटन मौज्दात
  • – ४ महिनामा करिब १ लाख मेट्रिकटन चिनी आवश्यक
  • – बजारलाई थप सुरक्षित गर्न १ लाख २५ हजार मेट्रिकटन चिनी आवश्यक
  • – उद्योगी र खुद्रा गरी करिब १ लाख ५ हजार मेट्रिकटन चिनी मौज्दात
  • – बजार सुरक्षितका लागि २० हजार मेट्रिकटन चिनी आवश्यक

सरकारले चाडबाडलाई लक्षित गर्दै चिनी आयातको तयारी थालेको छ । तर कति परिमाणमा चिनी ल्याउन दिने भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन् । नेपालमा सरदर ७५ हजार मेट्रिकटन चिनी अपुग छ । मुलुकभित्र २ लाख ५० हजार मेट्रिकटन चिनीको माग छ । तर स्वदेशी उद्योगहरुले बार्षिक १ लाख ७५ हजार मेट्रिकटन चिनी उत्पादन गर्दै आएका छन् । दशैं तिहारजस्ता ठूला पर्वमा चिनीको खपत बढी हुने भएकोले सरकारले अपुग चिनी आयात गर्न लागेको हो ।

यता, उद्योगीहरु भने देशको माग धान्नसक्ने चिनी उत्पादन गर्न सकिने बताउदै आएका छन् । उद्योगीका अनुसार अहिले ८२ हजार मेट्रिकटन चिनी मौज्दात छ । जुन ६ अर्ब रुपैयाँ बराबरको चिनी हो । मंसिरसम्मलाई पुग्ने चिनी उद्योगमा मौज्दात भएकोले जगेडा राख्नबाहेक अन्य प्रयोजनका लागि आयात नगर्न सरकारलाई स्वदेशी उद्योगी सुझाव दिन्छन् ।

उद्योगमा चिनी मौज्दात रहेकोले किसानलाई भुक्तानी गर्न नसकेको उद्योगीको गुनासो छ । सरकारले पनि चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएर स्वदेशी उद्योगीलाई सहयोग गरेको थियो । जुन अहिलेसम्म पनि कायमै छ । भन्सार दर, ढुवानी खर्च, भ्याट र विदेशी भुक्तानीमा लाग्ने ५ प्रतिशत करका कारण आयातमा चुनौती थपिएको छ ।

अहिले बजारमा प्रतिकेजी खुद्रामूल्य ८० रुपैयाँदेखि ८५ रुपैयाँमा चिनी विक्रि वितरण भइरहेको छ । भारतको सिमावर्ती क्षेत्रमा प्रतिकेजी ३५ देखि ४० रुपैयाँसम्म चिनी पाइने भएपछि चाडबाडको समयमा चिनीको तस्करी पनि हुने गरेको छ । हरेक बर्ष चाडबाडको समयमा प्रत्येक वर्ष व्यापारीले चिनीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV