३ भाद्र २०७६, मंगलवार
  • मनोज श्रीवास्तव

कपिलवस्तु । गत अषाढ २८ गते आएको बाढीले ढलेका सीमास्तम्भ निर्माणमा अन्योलता देखिएको छ । सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतका दुई देशिय केन्द्रियस्तरको सर्वेक्षक सहितको प्राबिधिक टोलीको आवश्यकता पर्ने भएकाले सीमास्तम्भ कहिले सम्म निर्माण हुने सो बारे अन्योलता बढदै गएको हो ।

एक महिना अघिको बर्षाको भेलले बिजयनगर गाँउपालिका ५ स्थित चिरई खोलाका ४ वटा सीमास्तम्भ ढलेका हुन । विजयनगर गाउपालिका–५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७८\७ र त्यस्को आधा कि.मी उत्तर पिलर नं. ५७८\१० पानीमा लडेको छ । गाउँपालिकाको वार्ड नं. ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७\७ र ५७७\९ ढलेका छन् । ५७७\९ नंबर पिलर तेस्रो परेर वालुवामा धसिएको छ भने ५७७\७ पानीमा डुबेर देखिनै छोडेको छ ।

उता विजयनगर गाउपालिका–१, चमरका जंगलमा अरर्रा नदीको भेलले २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको खुल्न आएको छ । सीमास्तम्भ लडेको महिना दिन हुदाँ समेत सीमा स्तम्भको निर्माणका लागि कुनै पहल नभएको स्थानीय बताउछन् । बिगतमा सीमास्तम्भ निर्माण गर्दा गुणस्तरिय काम नगर्दा सानो भेलमा नै सिमास्तम्भमा क्षति पुगेको स्थानीयको आरोप छ ।

बर्षाको भेलले सीमास्तम्भ लडाए सँगै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमास्तम्भको निगरानी गर्दै आएको छ । सीमास्तम्भ निर्माणका लागि दुई देशिय टोलीकै आवश्यकता पर्ने भएकाले सो का लागि केन्द्रियस्तरकै पहल आवश्यक देखिएको छ ।

सीमास्तम्भ ढलेको बिषयमा सम्बन्धित निकायमा सुचना प्रवाह गर्नुका साथै ती स्थानको नियमित निगरानी गरिएको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण कपिलबस्तुका गणपति शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए ।

कपिलवस्तु जिल्ला सँग भारतको उत्तर प्रदेशको सिद्धार्थनगर र बलरामपुर जिल्ला जोडिएका छन । दुई देशका सिमामा ४६ मुख्य सीमास्तम्भ, २ सय २६ सहायक सिमास्तम्भ र २ सय ६० साना सीमास्तम्भ गरि कुल ५ सय ३२ सीमा स्तम्भ छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV