३ भाद्र २०७६, मंगलवार


काठमाडाैँ । निःस्वार्थ त्याग, सारा दुःख–कष्ट सहेर सन्तानको खुसी र सफलतालाई नै आफ्नो खुसी र सफलता ठान्ने आमा । ९ वर्षको हुँदा विवाह गरेकी । दुःखलाई पनि खुशीमा बदल्ने आँट गर्ने तिनै आमा जस्ले सहनशीलता, धैर्यता, दुःखमा पनि हसिलो अनुहार बनाउन सिकाइन् ।

सन्तानका खुशीका लागि कुनै कसर बाँकी नराख्ने उनै भगवती भट्टराई । सन्तानको सानो खुसीको लागि आफु जस्तो सुक्कै दुःखका महासागर पार गर्न पछि नपर्ने आमा भट्टराई आफ्नो एक्लो सन्तानको खुशीमा नै सन्तुष्ट छन् ।

बुबालक्ष्मीभक्त ओझा र आमा चेतकुमारी ओझाको कोखबाट १९९२ सालमा भगवती नुवाकोटमा जन्मिएकी थिइन् । घर नजिकै पिपलको बोट राम्रै परिवार, दुःखको कहिल्यै महसुस नै भएन । गाँउमा बुबालाई सबैले मान्ने ।

९ वर्षको उमेरमा नै विवाह गरेकी उनलाई बाल्यकालको खासै कुराहरु याद नै छैन । आफु भन्दा पहिला दुई विवाह गरी सकेका श्रीमान्संग विवाह गरेकी उनको आफु भन्दा २ महिनामात्रै फरक उमेरको सौतेनी छोरा थिए । सौतेनी घर भएपनि घरमा पनि दुःखको महसुस नै भएन उनलाई ।

कडा स्वभावको आमाको स्मरण उनलाई आफ्नी आमको स्वभाव सदैव हक्की लाग्थ्यो । आफ्नी आमालाई दयाको महासागर सम्झने उनी आमा भन्ने शब्द सुन्दा पनि फुरुङ्ग हुन्छिन् । आमासंग खासै नबसेकी उनलाई आमाले घर राम्रोसंग गरेर खानु भनेको कुरा मात्रै याद छ ।

नुवाकोटबाट विवाह बन्धनमा बाँधिएर सिन्धुपाल्चोक आएकी उनीहरु पछि काठमाडौँमा नै आए । आफु ४० वर्षको हुँदा विद्यालाई जन्म दिएकी उनले छोरी मात्रै होइन्, विद्यार्थी आन्दोलनको एक योद्धा समेत जन्माइन् ।

छोरी बाल्यकालदेखि नै राम्रो स्वाभावकी थिईन्, कहिले केही कुरामा पनि ठेस नपुर्याएकी विद्या आफ्नो आमाको खुसीको लागि केही कसुर नै राखिनन् । आफ्नो छोरीको सबैभन्दा मनपर्ने पक्ष जुनसुकैँ परिस्थितिमा पनि हासी रहने बानी थियो, यति लामो जीवनयापन गर्दा छोरीलाई सानोमा १ पटकमात्रै पिटेकी थिइन् भगवतीले ।

विद्यालयमा पनि शैक्षिक स्तरमा अत्यन्तै राम्रो भएकी विद्यालाई काठमाडौँमा नै हुर्काएका थिए । बच्चाहरुको स्वभाव नै चकचक गर्ने हुन्छन्, तर विद्या बच्चामा पनि ज्ञानी थिइन्, तर बाल्यकालमा खेल्ने क्रममा झ्यालबाट लडेकी विद्या १ महिनासम्म हस्पिटल बस्नु परेको थियो । त्यतिबेला भगवतीलाई छोरीको पीडा छिटो निको भए हुन्थ्यो जस्तो मात्रै लाग्यो ।

राजनीति गर्ने बेलामा पनि होइन,होइन भन्दा भन्दै घरमा नभनेर नै विद्यार्थी नेता बनेकी विद्याले विवाह गर्न केही समय ढिला गर्दा मात्रै आमालाई पिर भएको थियो । रबीन्द्र अधिकारीसंग विवाहको कुरा चल्दा कस्तो केटा होला भन्ने नलागेको होइन्, तर आफ्ना भतिजा राजन भट्टराईले सबैकुरा बुझाएपछि आफ्नी एकमात्र छोरीलाई रबीन्द्रसंग विवाह गरेर पठाउन राजी भएकी थिइन भगवती ।

आफु ४० वर्षको हुँदा छोरीको जन्मदिएकी उनको ५/६ वटा सन्तान खेर गईसकेका थिए । एकमात्र छोरीको रुपमा परिवारमा रहेकी विद्याको हुर्काइमा कुनै कसर राख्नै दिइनन् भगवतीले ।

आफुले सुकोमल फुल जसरी हुर्काएको आफ्नो सन्तानलाई जब ठूलो बज्रपात पर्दा आफ्नो टाउको माथि आकाश नै खसेको महसुस गरिन् भगवतीले । भनिन्, दैवको लेखान्त टारेर टरेन, अब सासु ससुरा छन्, दुई छोरा छन्, के गर्ने त ? त्यस्तो उमेरको मान्छे, हसिलो रसिलो ज्वाईँ अब संसारमा रहनु भएनभन्दा पीडा त भयो नै ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV