३ भाद्र २०७६, मंगलवार
  • दीर्घराज उपाध्याय
This image has an empty alt attribute; its file name is rabi-yubaraj3.jpg

कैलालीको लम्की चुहा नगरपालिका ८ गोप्काकी ३० वर्षीया रामजानकी चौधरी छिमेकीबाट साँधको बिबादमा निर्घात कुटिईन । ४० दिनपछि उनको होश आयो । होश खुलेपछि भर्खरै उनी कुटपिट गर्नेहरुका विरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कैलाली पुगिन् । प्रहरीले उनको उजुरी नै दर्ता गरेन ।

मलाई कुटपिट गर्ने यिनै व्यक्ति हुन् भनेर स्वयम उपस्थिति भएर किटानी जाहेरी दिदा पनि प्रहरीले ती व्यक्तिहरुलाई पक्राउ गर्नु त टाढाको कुरा । पीडितको उजुरी नै लिन मानेन । यो घटना भदौ २ गतेको हो ।

कहीँ किटानी जाहेरी दिँदा पनि प्रहरी एक्टिभ हुँदैन । कहीँ उजुरी नआउँदै प्रहरी यति एक्टिभ हुन्छ, कि कार्यक्रम सञ्चालन गर्न तम्तयार भएका पत्रकारलाई स्टुडियोभित्र पस्न नदिएर कार्यकक्षबाटै पक्राउ गर्छ ।

चितवनमा पत्रकार शालिकरामको मृत्यु प्रकरणमा प्रहरी प्रोएक्टिभ भयो । उसले किटानी जाहेरी आउनुभन्दा तीन दिनअघि नै सो घट्नासँग जोडेर पत्रकार रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्यो ।

यी दुबै फरक प्रकृतिका घट्ना हुन् । एउटै घानमा हालेर दुईटै घट्नालाई विश्लेषण गर्न हुँदैन ।

कुरो नियतको हो । कहीँ किटानी जाहेरी दिँदा पनि प्रहरी एक्टिभ हुँदैन । कहीँ उजुरी नआउँदै प्रहरी यति एक्टिभ हुन्छ कि कार्यक्रम सञ्चालन गर्न तम्तयार भएका पत्रकारलाई स्टुडियोभित्र पस्न नदिएर कार्यकक्षबाटै पक्राउ गर्छ । रवि भागेर कहीँ जाने होईनन् । प्रहरी एकछिन पनि धैर्यता गर्दैन । उसले सञ्चारगृहभित्रैबाट रविलाई पक्राउ गरेर बहादुरी देखाउछ ।

गोविन्द केसी, रवि लामिछाने, ज्ञानेन्द्र शाहीजस्ता निहत्था र जनताका आवाज बोल्नेहरुमाथि बहादुरी देखाउने प्रहरी सधैँ र सबै घट्नामा यसरी नै बहादुर भइदिए रवि लामिछानेहरुको यो देशमा आवश्यकता नै पर्दैनथ्यो । रवि लामिछाने हिरो पनि हुँदैनथे ।

राज्य, राज्यका संयन्त्र, प्रहरी, अदालत र अन्य सरकारी निकायहरुप्रतिको जनताको बितृष्णा चुलिँदैछ । रविले जनताको त्यही बितृष्णालाई साथ दिए । जनताका समस्या, गुनासा, पीडालाई सम्बोधन गर्न सिधा कुरा मार्फत राज्यका निकायहरुलाई दबाव दिए ।

भ्रष्टाचार, बेथिति, अन्यायका विरुद्ध आवाज उठाउने पार्टीहरु उदासिन भएपछि ती मुद्दालाई सिधा कुरा मार्फत रविले उठाए । त्यही कारण पार्टीहरु उनीप्रति सहिष्णु र उदार भएनन् । मुख्य समस्या नै यही हो ।

गोविन्द केसी, रवि लामिछाने, ज्ञानेन्द्र शाहीजस्ता निहत्था र जनताका आवाज बोल्नेहरुमाथि बहादुरी देखाउने प्रहरी सधैँ र सबै घट्नामा यसरी नै बहादुर भइदिए रवि लामिछानेहरुको यो देशमा आवश्यकता नै पर्दैनथ्यो ।

को हो त्यो रवि, जसले सरकारले गर्नुपर्ने काम गर्छ ? पार्टी र सरकार सञ्चालकको यही बुझाइ मुख्य समस्या हो ?

आज प्रतिपक्षमा रहेको पार्टी भोलि सरकारमा हुन सक्छ । त्यसले कुनै पार्टी स्थायी प्रतिपक्ष नहुन सक्छ । मिडिया भने स्थायी प्रतिपक्ष हो । यसो हेर्दा मिडिया सरकार बिरोधी जस्तो देखिन्छ पनि । तर त्यसो भने होईन । सरकारका राम्रा कुराको समर्थन र प्रचार गर्ने मिडियाले सरकारका गलत कामको भण्डाफोर पनि गर्छ ।

तर आफ्ना बारेमा राम्रा कुरा मात्र सुन्न रुचाउने शासकको मनोविज्ञान त्यतिबेला भड्किन्छ, जब मिडियाले उसका गलत क्रियाकलाप उजागर गर्छ । रविको हकमा पनि त्यही भएको हो । रविले सिधा कुरा मार्फत कुनै नेता र पार्टीको स्तुतिगान नगाउनु, कुनै पार्टीको पक्षपोषण नगर्नु नै उनको अपराध भएको छ, यतिबेला ।

मुख्य समस्या नै बुझाइ/बुझ्ने तरिका हो । रवि न सरकारविरोधी हुन् न कुनै पार्टीविरोधी । न उनी कुनै पार्टीका सदस्य हुन् । उनले सिधा कुरा मार्फत जनताका कुरा उठाउँदा त्यसले सरकारलाई अप्ठ्यारो कहीँकतै पारेको हुनसक्छ । तर त्यसको अर्थ सरकार वा कुनै पार्टीले रविलाई आफ्नो विरोधीका रुपमा बुझ्न भने हुदैन ।

हो, रवि लामिछानेको सबै भन्दा ठूलो गल्ती कुनै पार्टीका प्रेस संगठनमा आबद्ध नहुनु हो । उनी पत्रकार महासंघको सदस्य छैनन् । प्रेस संगठन वा प्रेस युनियनको सदस्यता उनले लिएका छैनन् ।

के यही हो, उनको अपराध हो ? मान्छेको हत्यामा जोडिएकाहरु, बमकाण्डमा मुछिएकाहरु, फिरौती असुलीमा संलग्न भएकाहरु, आत्महत्या दुरुत्साहनमा जोडिएका पत्रकारहरु किन यसअघि कहिल्यै कानुनी दायरामा आएनन् ? किन उनीहरु म्याद थपिनु अघि नै बाईज्जत बरी भए ?

त्यसको सिधा उत्तर छ, उनीहरु कुनै दलसंग आबद्ध थिए । कुनै न कुनै दलको पत्रकार संगठनका सदस्य थिए ।

पत्रकार शालिकरामको आत्महत्याको छानबिन हुनुपर्छ । उक्त घट्नासँग जोडिएका सबै पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्छ । रविमाथि पनि छानबिन हुनुपर्छ । छानबिन गर्ने कुरामा कसैको असहमती हुनु हुँदैन ।

रवि कुनै पार्टीको कार्यकर्ता नहुनु के यही उनको अपराध हो ? उनले हिजो सिधा कुरामा के कुनै पार्टीको मान्छेका पक्ष र कुनै पार्टीका विपक्षमा कार्यक्रम चलाएका थिए ? खाडीमा बेचिएकी चेली कुन पार्टीकी कार्यकर्ता थिईन ? दिल्लीमा बेचिएका चेलीहरु कुन पार्टीमा आबद्ध थिए ? अस्पतालले बन्दी बनाएका बेसाहारा बिरामी कुन नेताका कार्यकर्ता थिए ?

तर यसको अर्थ त्यही बहाना र नाममा जोसुकैलाई फसाउने नियतले गर्ने कर्मलाई न्यायको जामा पहिराउन कदापि पाइँदैन ।

रवि पक्षधरहरुले छानबिन गर्नै पाइँदैन भनेको सुनिएको छैन । र, स्वय‌ं रविले पनि ‘ममाथि छानबिन नै नगर’ पनि भनेको सुनिएको छैन । रविले प्रहरीलाई अनुसन्धानका क्रममा प्रहरीलाई सहयोग गरेका छन् । सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

रवि कुनै पार्टीको कार्यकर्ता नहुनु के यही उनको अपराध हो ? उनले हिजो सिधा कुरामा के कुनै पार्टीको मान्छेका पक्ष र कुनै पार्टीका विपक्षमा कार्यक्रम चलाएका थिए ? खाडीमा बेचिएकी चेली कुन पार्टीकी कार्यकर्ता थिईन ? दिल्लीमा बेचिएका चेलीहरु कुन पार्टीमा आबद्ध थिए ? अस्पतालले बन्दी बनाएका बेसाहारा बिरामी कुन नेताका कार्यकर्ता थिए ? उनले उठाएका भ्रष्टाचारका मुद्दा के कुनै एउटै पार्टीसंग सम्बन्धित थिए ? के उनले सिधा कुरामा छानी छानी एउटै पार्टीलाई तारो बनाएका थिए ? पक्कै पनि थिएनन् ।

एउटा कुरा निश्चित छ । यदि कुनै पार्टीको भातृ संगठन वा प्रेस संगठनसंग आबद्ध नभएको व्यक्तिलाई राज्य, उसका संयन्त्र र ती संयन्त्रमा पहुँच भएकाहरुले भोलि फसाउन चाह्यो वा समाप्त पार्न चाह्यो भने सहजै समाप्त पार्नेछ ।

रवि त्यसरी शिकार हुने पहिलो व्यक्ति हुनेछन् र अरुले पालो कुर्नु पर्नेछ । यदि रविलाई समाप्त पार्न राज्य, उसका संयन्त्र र ती संयन्त्रलाई चलाउने व्यक्तिहरु सफल भए भने पार्टीको संरक्षणविहीन निर्दोष व्यक्तिहरु राज्य, उसका संयन्त्र र ती संयन्त्रलाई चलाउने व्यक्तिहरुको ईगो, लहड र सनकको शिकार भइरहनेछन् ।

त्यसमा पत्रकार पनि पर्न सक्छन् । अरु सामान्य व्यक्ति पनि । चिन्ता बुढी मरी भन्ने होईन, बाघ पल्क्यो भन्ने हो ।

पत्रकारिताको चीर हरण भइरहँदा किन मौन ?

अरु बेला पत्रकारिताको धर्म र मर्ममाथि बहस चलाउनेहरु, पत्रकारको भौतिक र पेशागत सुरक्षाका लागि चासो र चिन्ता व्यक्त गर्ने मुलधारका मिडियाहरु रवि पक्राउ पर्दा किन मौन छन् ? किन शालिकरामको मृत्यु उनीहरुको खोजीको विषय बनिरहेको छैन ?

एकथरी पत्रकार मौन छन् । बित्थामा किन यो प्रकरणमा मुछिने भन्ने लागेको छ, कतिपयलाई । शालिकरामको मृत्युमा समवेदना दिने फुर्सदसम्म नभएकाहरु एकथरी पत्रकार रविलाई खुच्चिङ गरिरहेका छन् ।

उनीहरुलाई शालिकरामको चिन्ता होईन । उनीहरुलाई त कही रवि नजोगियोस् भन्ने चिन्ता छ ।

रवि किन यति छोटो समयमा लोकप्रिय भए ? किन उनका पक्षमा यतिधेरै जनता सडकमा उर्लिए ? यो कसैको समीक्षाको विषय नै बनेको छैन । हिरो भाथ्यो, त्यसलाई ठिक भयो भन्ने पत्रकारको केवल सोच मुतको न्यानो हो । त्यसले एकछिन मनमा न्यानो दिए पनि अन्ततः उसैलाई चिस्याउने छ । अझ कतिपयले त उनलाई रामरहिमसंग तुलना गर्न पनि भ्याइसके ।

राज्य संयन्त्र निर्मम भएको बेला अदालतले उनलाई न्याय गर्छ कि गर्दैन थाह छैन ? तर हिजो त्यही अदालत र प्रहरी कहाँ धाउदा धाउदा न्याय नपाएका तमाम गरीब, असहाय र पीडित व्यक्तिहरुलाई न्याय दिलाउन सिधाकुरा मार्फत निर्बाह गरेको भूमिकाका कारण लोकप्रिय भएका रविले न्याय नपाउदा लाखौ पिडित व्यक्तिहरुको आशाको केन्द्र ढल्नेछ ।

हरेक व्यक्तिले एक पटक सोचेर हेरौँ । कुनै पार्टीको कार्यकर्ता नहुँदा भोग्ने नियति के रविको जस्तै हुने हो ?

पत्रकारिताको चीर हरण भईरहदा किन मौन छन्, पत्रकारिताका भिष्म पितामहहरु ? किन मौन छ, पत्रकार महासंघ ? किन चुप छन्, प्रेस संगठनहरु । यदि ती संगठनसंग आबद्ध पत्रकारलाई प्रहरीले पक्राउ गरेको भए निर्दोषलाई फसाउने प्रहरी प्रपञ्च भयो भनेर अहिले ७७ वटै जिल्लामा पत्रकारका धर्ना, घेराउ र हातमा कालो पट्टि बाँधेर विरोधका कार्यक्रमले देशै तताइसक्थ्यो ।

सुसाइड नोटकै भरमा सजाय कतिलाई ?

गत श्रावण ३२ गते कान्तिपुरमा आत्महत्या यसरी रोक्न सकिन्छ शीर्षकमा छापिएको समाचारमा कन्सलटेण्ट साईकियाट्रिष्ट डा. रितेश थापा भन्छन्, ‘आत्महत्या व्यक्तिले आफ्नो मानसिक तनावलाई व्यवस्थित गर्न नसकेर गर्छन् ।’ अध्ययनहरुले आत्महत्याको करिब ९० प्रतिशत कारण मानसिक रोग नै भएको देखाएको छ ।

प्रहरीका अनुसार आ.व. ०७३/७४ मा ५१३१, ०७४/७५ मा ५३४६ र आ.व.०७५/७६ को चैत मसान्तसम्म ३९५८ जनाले आत्महत्या गरे ।

यो तथ्यांकलाई आधार मान्ने हो भने १० वर्षमा आत्महत्या गरेर ५० हजार भन्दा बढिले ज्यान गुमाए । र यसरी आत्महत्या गर्नेमा महिलाको संख्या बढी छ । र, थुप्रै महिलाले मर्नु अघि पति र परिवारको यातना सहन नसकेर आत्महत्या गर्नुपरेको सुसाइड नोट छोड्ने गरेका छन् ।

ती मुद्दामा प्रहरीले अहिलेसम्म कतिलाई पक्राउ गर्यो ? कतिजनालाई मुद्दा चलायो ? सुसाईड नोटका आधारमा अदालतले कतिजनालाई सजाय सुनायो ? केही अपवाद घट्ना होलान ? जसमा सुसाईड नोटलाई आधार बनाएर प्रहरीले कारबाही प्रकृया अगाडि बढाएको ।

प्रहरीले रविलाई पक्रिन पछिल्लोपटक जुन सक्रियता देखायो । त्यसमा जोसुकैले सहजै अनुमान गर्छ- दालमे कुच काला है । जे जति भएको छ, त्यो कसैको निर्देशन, उक्साहट र गलत मनशायले भएको छ ।

प्रहरीकाे नियत र बढ्दाे अविश्वास

कञ्चनपुरमा निर्मला पन्तको बलत्कारपछि हत्या भएको घट्नामा प्रहरी उपरीक्षक सहित थुप्रै प्रहरीको डिएनए परीक्षण गरियो । त्यहाँ प्रहरीमाथि लापरबाहीको आरोप थियो ।

चितवनमा पनि प्रहरीको डिएनए परीक्षण गर्ने बेला आएको छ । तर यहाँ भने हदभन्दा बढी चलाखी र बेईमानी गरेकोमा ।

कहीँ उजुरी दिँदा पनि प्रहरीले समात्दैन । कहीँ उजुरी नपरेकै व्यक्तिलाई प्रहरीले पक्राउ गर्छ । प्रहरीसंग सुरक्षित रहेको अनुसन्धान सामग्री राज्यका संयन्त्रमा पहूँच भएकै भरमा कुनै व्यक्तिको हात हुँदै समाचारमाध्यममा पुग्छ । छापिन्छ । प्रसारण हुन्छ ।

प्रहरीले अपराध प्रमाणित नभई कुनै व्यक्तिलाई सशरीर पत्रकार सम्मेलनमा उपस्थित गर्दैन । पत्रकार सम्मेलनमा उभ्याउनै पर्ने भए उसको अनुहार छोप्छ । अनुसन्धान पूरा नभएसम्म सबै प्रमाणहरु सार्वजनिक गर्दैन ।

चितवनमा शालिकरामको मोबाईलबाट बरामद भएको भनिएको सुसाईडपूर्वको भिडियोको अनुसन्धान पुरा नहुँदै सार्वजनिक हुँदा प्रहरीकै अनुहार छोप्नुपर्ने गरी धब्बा लागेको छ ।

यो प्रहरीको लापरबाही हो वा कमजोरी ? यसलाई लापरबाही वा कमजोरी मात्र मान्न सकिन्न । यो त रविलाई फसाउन खोज्ने प्रहरीको उदांगिएको नियत हो ।

रविको पक्राउपछि चितवनमा दिनहुँ प्रदर्शन भईरहेको छ । प्रदर्शनमा बालकदेखि बृद्धसम्म हजारौको सहभागिता छ । र सहभागी हुनेको संख्या प्रतिदिन बढिरहेको छ । प्रदर्शनमा स्वस्र्फूत रुपमा सहभागी भएकाहरुलाई कसैले सहयोग गरेर आएका होईनन । देशका बिभिन्न जिल्लाबाट आफ्नो खर्चमा चितवन पुगेकाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । प्रहरी र प्रशासनविरूद्ध चरम अविश्वास छ ।

उदेकलाग्दो कुरा त के भने हिजो अदालतको आदेश मान्दैनौँ भन्नेहरु यतिबेला पाठ पढाईरहेका छन् । उनीहरु रविको समर्थनमा उर्लिएको भीडलाई भेडा देख्छन् । कानून पढाउछन् । अदालतको फैसला कुर्न अर्ति दिन्छन् ।

आफ्नो भ्रष्ट र हत्यारा नेता पक्राउ गर्दा टायर बालेर बन्द गर्नेहरु यतिबेला भने बन्द गर्नु बेठिक भन्दै नैतिकताको पाठ पढाउन थालेका छन् । यो भन्दा उदेक लाग्दो कुरा के होला ?

यसको अर्थ बन्द र अराजकता ठिक हो भन्ने कदापि होईन । बन्द र अराजकता कुनै पनि बहानामा गर्न पाईदैन ।

यद्दपि रवि लामिछानेले आफ्ना समर्थकहरुलाई न त बन्द गर्न भनेका छन् । न त तोडफोड गर्न नै उक्साएका छन् । रविले प्रहरीमाथि जाई नलाग्न र कोही पनि घाईते हुन नदिन आफ्ना समर्थकहरुलाई निरन्तर आग्रह गरिरहेका छन् । उनी कानुनभन्दा माथि छैनन् । उनले आफूलाई कानुनभन्दा माथि छु पनि भनेका छैनन् । उनले कानून कार्यान्वयनका लागि मात्र नभएर आफ्नै पूर्व सहकर्मी स्वर्गीय शालिकरामलाई मृत्यु पर्यन्त न्याय दिन, अन्याय र पीडामा रहेका हरेक नेपालीलाई न्याय दिलाउन हत्केलामा ज्यान राखेर पत्रकारिता गर्दै आएका रवि आफ्नै सहकर्मीलाई अन्याय हुने कार्य गर्ने कुरा सोच्नसम्म सकिँदैन ।

शालिकरामको मृत्यु प्रकरणसँग जोडेर नखाएको विषले रविलाई मार्न उद्दत छन्, केही व्यक्तिहरु ।

यसकारण रविविरूद्ध संगठित शक्ति

रवि लामिछाने भ्रष्ट नेता, कर्मचारी, ठेकेदार, म्यानपावर कम्पनी, दलालहरुका लागि मात्र टाउको दुखाइ बनेका छैनन् । नेतालाई भगवान मान्ने कार्यकर्ता र पत्रकारका लागि पनि टाउको दुखाइ बनेका छन् । त्यसैले उनीहरु रवि लामिछानेका विरुद्ध संगठित रुपमा लागेका छन् ।

जीवनको अन्तिम समयसम्म पनि शालिकरामले रवि लामिछानेको तस्वीरलाई आफ्नो फेसबुकको कभर फोटो बनाउनुले उनको रवि प्रतिको स्नेह, श्रद्धा र विश्वास देखाउछ । जबकि कुनै पनि मान्छे आफूलाई मन नपरेको मान्छेलाई फेसबुकबाट तत्काल अनफ्रेन्ड गर्छ । ब्लक गर्छ । रविप्रति शालिकरामको घृणा वा नकारात्मक दृष्टिकोण भएको भए उनले जीवनको अन्तिम समयसम्म आफ्नो फेसबुककाे प्राेफाइल र कभर फोटोमा रविलाई राखि रहन्थेनन् । यो सामान्य मान्छेले पनि बुझ्ने कुरा हो ।

This image has an empty alt attribute; its file name is saligram-1.jpg

प्रहरी भने शालिकरामले आत्महत्या गर्नुअघि रेकर्ड गरेको सुसाईड भिडियोको वास्तविकता के हो, त्यसलाई अनुसन्धान गर्न जरुरी नै ठान्दैन । त्यो भन्दा पहिले नै रविलाई पक्राउ गर्छ । यसैले प्रष्ट हुन्छ, प्रहरीको नियत ।

सिधा कुरामा उनको प्रस्तुति कतिपयलाई मन नपर्न सक्छ । हो, मलाई पनि मन पर्दैन । त्यसको अर्थ उनीमाथि अन्याय हुदा विवेक बन्धकी राखेर चुपचाप बसिरहन यो मनले मानेन । र, लेख्न बाध्य भएँ ।

सिधाकुरा मार्फत हिजो रविले जस जसको गलत क्रियाकलापको भण्डाफोर गरे । ती व्यक्ति त रविको पछि लागेकै छन् । पार्टीका पिछलग्गु व्यक्तिहरु पनि रविलाई सिध्याउने खेलमा जुटेका छन् ।

हो, उनले कुनै पार्टीको गुलामी गरेनन् । कुनै नेतालाई सलामी गरेनन ? के यही हो, उनको दोष ?
के यो देशमा स्वतन्त्र नागरिक भएर बाँच्ने कसैलाई हक छैन ? र नागरिकका आवाज उठाउने हक कसैलाई छैन ?

तिम्रो विचारसंग म असहमत छु । तर पनि तिम्रो बिचारको सम्मान गर्छु । यही होईन लोकतन्त्र भनेको हो । जहाँ सबैको बिचारको सम्मान हुन्छ । यही होईन, लोकतन्त्रको सुन्दरता ।

तर यहाँ त आफ्नो बिचारसंग सहमत नभएकै कारण रविलाई समाप्त पार्ने ध्याउन्न जुटेको छ, राज्य, उसको संयन्त्र र त्यो संयन्त्रमा पहूँच भएका व्यक्तिहरु ।

कतिपय पत्रकार रविलाई खुईल्याउन लागीपरेका छन् । त्यही पूर्बाग्रही कर्मलाई पत्रकारिताको नाम दिनेहरु पत्रकारिताको आदर्श छाट्न रत्तिभर संकोच मान्दैनन ।

शालिकरामले डोरी किनेको फुटेज फेला परेको समाचार छाप्न हतारिने सञ्चारमाध्यहरुको मनोविज्ञान स्पष्ट छ, उनले आत्महत्या गरेको जसरी पनि पुष्टि गर्नु । र त्यही आत्महत्यासंग जोडेर रविलाई समाप्त पार्नु । तर उनीहरु रविको समर्थनमा जम्मा भएको भीडलाई भने देख्दैनन् । देखे पनि भेडा देख्छन् ।

निमुखा र निर्धोका पीडाका समाचार जसको प्राथमिकतामा कहिल्यै परेन । नेताकै वरिपरि घुम्ने । पत्रकारिताको आडमा सधैँभरि राज्यको संयन्त्रमा कब्जा जमाइरहने । नेताको फेर समातेर देश विदेश घुम्ने । आफ्नो मालिकको अपराध लुकाउने । पत्रकारभन्दा पार्टीको बफादार कार्यकर्ता, जो नियुक्तिका आशमा नेताको भक्ति गरिरहन्छ । त्यस्तो पत्रकार मात्र रविका विरुद्ध विष बमन गरिरहेका छन् ।

रविले के अपराध गरे ? रविको गल्ती के हो ? शालिकरामको आत्महत्याको कारक कसरी रवि लामिछाने भए ? यसको बारेमा भने उनीहरु सोधीखोजी गर्दैनन । सोधीखोजी गर्न जरुरी नै ठान्दैनन । किनकी उनका नजरमा त रवि लामिछाने सिधै दोषी हुन् । पहिले नै रवि लामिछानेलाई दोषी देख्नेहरु नै रविका समर्थकलाई भने वकिल, न्यायधीश र न्यायालय नबन्न सल्लाह दिन भ्याइरहेका छन् । यसैलाई भन्छन्, दृष्टिदोष । यसैलाई भन्छन्, पूर्बाग्रह ।

शालिकरामको मृत्यु प्रकरणलाई लिएर यतिबेला देखिएका दुबै खाले अतिवाद न्याय, कानून, बिधिको शासनका लागि मात्र घातक छैनन । पत्रकारिताका लागि पनि घातक छन् । पत्रकारिताको विश्वास चितवनमा लिलाम भईरहदा ताली बजाएर मजा लिनेहरु भने पत्रकार नै छन् । यो पत्रकारिताका लागि समेत दुर्भाग्य हो ।

रविलाई भिलेन बनाएर कोही हिरो बन्ने वाला छैन । ए रविलाई पत्रकारिताको पाठ पढाउनेहरु हाे, थाह छैन- तिम्रो परिभाषामा पत्रकार कस्ता व्यक्तिहरु पर्छन् ? को पत्रकार हुन्, को होईनन् ?

निमुखा र निर्धोका पीडाका समाचार जसको प्राथमिकतामा कहिल्यै परेन । नेताकै वरिपरि घुम्ने । पत्रकारिताको आडमा सधैँभरि राज्यको संयन्त्रमा कब्जा जमाइरहने । नेताको फेर समातेर देश विदेश घुम्ने । आफ्नो मालिकको अपराध लुकाउने । पत्रकारभन्दा पार्टीको बफादार कार्यकर्ता, जो नियुक्तिका आशमा नेताको भक्ति गरिरहन्छ । त्यस्तो पत्रकार मात्र रविका बिरुद्ध विष बमन गरिरहेका छन् ।

खाडीमा नारकीय जीवनबाट उद्दार गरिएकी चेलीलाई सोध, रवि को हुन् ? म्यान पावर कम्पनीबाट ठगिएर विदेशमा अलपत्र परेकाहरुलाई सोध, रवि के हुन् ?

ठेकेदारको कमसल कामबाट ठगिएका दूर दराजका जनतालाई सोध रवि को हुन् ? राज्यले तह लगाउन नसकेका ती ठेकेदारहरुलाई रविले सिधा कुरा मार्फत आच्छु आच्छु पारेका छन् । भ्रष्ट नेता र कर्मचारीका कारण आजित भएका जनतालाई सोध रवि को हुन् ?

सक्छौ भने देखाउ, रवि कहाँ झुके ? कहाँ बिके ? कहाँ डगे ? सिधा कुराका चार सय भन्दा बढि भाग प्रशारण हुदा कुनै एउटा भाग यस्तो देखाउ, जहाँ रविले बदमासी गरे ? रविले जहाँ जनताका आवाज उठाएनन् ?

सक्छौ भने देखाउ, जहाँ रविले जनताका आँखामा धुलो हालेर भ्रष्ट नेता, ठेकेदार र कर्मचारीसंग मोलमोलाई गरे ? भन्न र आरोप लगाउन सजिलो छ । तथ्य सहित प्रमाणित गरेर देखाउन गाह्रो छ ।

तिमीहरुका आरोपबाट सत्य कदापि डग्दैन । हो, यदि रवि हार्यो, रवि थाक्यो भने धेरैको आशा र भरोसाको धराहरा भुकम्पले ढाले झै ढल्नेछ । र, त्यो ठडिन फेरि वर्षौ लाग्नेछ ।

शालिकरामका परिवारले न्याय पाउनुपर्छ । आशा छ, हजारौँ व्यक्तिलाई न्याय दिन अहोरात्र खटेका रविमाथि अन्याय हुने छैन । जनताको भरोस र विश्वास उठ्ने काम अदालतले गर्ने छैन । अहिलेलाई यही आशा गर्न सकिन्छ ।

(उपाध्याय पश्चिम टुडेका प्रधान सम्पादक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
LIVE TV