निर्माणका लागि प्रयोग हुने हेभी इक्विपमेन्ट अलपत्र



प्रकाशित मिति : Aug 19, 2019

काठमाडौं । सडक विभाग अन्तर्गतको हेभी इक्विपमेन्ट डिभिजन कार्यालय मिनभवनमा निर्माणमा प्रयोग हुने साधनहरु अलपत्र अवस्थामा छन् । गत वर्ष मात्र खरिद गरिएको १२ करोड रुपैयाँ बराबरका साधन प्रयोगमा आउन सकेको छैन । यसले राज्यको कोषको दुरुपयोग मात्र भएको कतिपयले औंल्याएका छन् ।

यो हो काठमाडौंको मिनभवनमा रहेको हेभी इक्विपमेन्ट डिभिजन सडक कार्यालय । यहाँ निर्माणका लागि खरिद गरिएका हेभी इक्विपमेन्टहरु अलपत्र अवस्थामा छन् । गत आर्थिक वर्षमा सरकारले लोडर, मिनीडम्पर, प्रोटेवल एयर कम्प्रेसर लगायतका २३ वटा करिब १२ करोड रुपैयाँ बराबरको हेभी इक्वीपमेन्ट खरिद गरेको थियो । यी साधन प्रयोगमा नआएको भन्दै आलोचना भइरहेपनि कार्यालय भने पर्याप्त नभएको बताउने गरेको छ ।

कार्यालयले हेभी इक्विपमेन्ट चलाउने जनशक्तिको अभाव भएको बताएकोछ । नेपालमा सामान्य खालका इक्विपमेन्ट चलाउने तालिम केही कम्पनीले दिए पनि ठूला क्रेन तथा नयाँ मेसिन चलाउने प्रावधिक विदेशबाटै झिकाउनुपर्ने अवस्था छ ।

मुलुकभर हेभी इक्विपमेन्ट करिव ६ हजारको संख्यामा रहेको छ । हेभी इक्विपमेन्ट चलाउन चाहिने अनुमतिपत्रका लागि समेत झण्झट भएका कारण आकर्षण कम भएको बताउँनेहरु पनि छन् । यसका लागि कम्तीमा माध्यामिक शिक्षा परीक्षा पास गरेको हुनुपर्ने प्रावधान रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com