२ भाद्र २०७६, सोमबार
  • तारा आचार्य

विराटनगर, २ भदौ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अन्तरप्रदेश हवाई उडान गर्ने तयारी शुरु गरिएको जानकारी दिनुभएको छ ।

सोमवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीहरुको गुनासो सुनेपछि मुख्यमन्त्री राईले विराटनगरबाट पोखरा र भैरहवाका लागि अन्तरप्रदेश हवाई उडान बारे छलफल भईरहेको बताउनु भयो ।

उहाँले यात्रु अभाव र हवाई भाडाका कारण विराटनगर काठमाण्डौ पोखरा र विराटनगर काठमाण्डौ भैरहवा सेक्टरमा उडान गर्ने बारे उद्योगी व्यापारीहरुले सहमति दिनुपर्ने विचार व्यक्त गर्नुभयो । यसैगरी उहाँले विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने तयारी भईरहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्थानीय करको समस्या, मीरगंज पुल, उद्योगका लागि जग्गा, विराटनगर विमानस्थल विस्तार, लगानी मैत्री कानुन लगायतका विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उद्योगी व्यापारीको समस्या समाधान गर्न प्रदेश सरकार क्रियाशील रहेको जानकारी दिदै मुख्यमन्त्री राईले अन्तरप्रदेश समन्वय परिषदको बैठकमा स्थानीय, प्रदेश र संघीय सरकारले लगाएको करका कारण उद्योग व्यवसायमा पर्न गएको समस्या बारे छलफल गरिने जानकारी दिनुभयो ।

सो कार्यक्रममा उद्योगी व्यवसायीहरुले स्थानीय तहले जथाभावी कर लगाउदा उद्योग संचालन गर्न कठिनाई भएको गुनासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV