२ भाद्र २०७६, सोमबार
  • अमर काफ्ले

इनरुवा । मुआब्जा माग गर्दै अनशनरत कोशी पीडितहरु सडक आन्दोलनको तयारीमा जुटेका छन् । कोशी ब्यारेजमा अनशनरत पीडितहरु आफ्ना माग सम्बन्धमा सरकारले चासो नदिएको भन्दै सडक संघर्षको तयारीमा जुट्न लागेका हुन् ।

साउनको ३२ गतेबाट कोशी ब्यारेज छेउको सडक किनारमा थालिएको अनशनप्रति सरकारी चासो नदेखिएको भन्दै संघर्ष समिति दबाब मूलक कार्यक्रम संचालनमा ल्याउने तयारीमा जुटेको हो ।

कोशी नदी कटान डुबान पीडित संर्घष समितिका सल्लाहकार सदस्य बौवालाल मेहताले आफुहरुका माग सम्बोधन हुने छाँट नदेखिएकाले सरकार उपर दबाब सृजना गराउन सडक संघर्ष बाहेकको विकल्प नभएको बताए ।

भोलि बस्ने समितिको बैठकमा आगामी रणनीतिका विषयमा छलफल गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने कोशी पीडित संघर्ष समितिले जनाएको छ ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाका कोशी पीडितहरु संयुक्त रुपमा कोशी नदी कटान डुवान पीडित संर्घष समिति गठन गरी आन्दोलनरत छन् । नेपाल र भारतबीच भएको कोशी नदी सम्झौता अनुसारको मुआब्जा पाउनु पर्ने उनीहरुको माग रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV