नेकपा र समाजवादीबीच चिसियाे सम्बन्ध, सरकार छाड्न उपेन्द्रलाई दबाव



प्रकाशित मिति : Aug 19, 2019

काठमाडौं । सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध बिग्रन थालेको छ। समाजवादी पार्टीका नेताहरू लामो समयसम्म पनि संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा सरकारको नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन्। सरकारसँग दुईबुँदे सहमति गरी २०७५ जेठ २२ गते समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सरकारमा गएको थियो।

दुईबुँदे सहमतिको पहिलो बुँदामा सरकारले संविधान संशोधनको काम अघि बढाउने र दोस्रो बुँदामा तत्कालीन संघीय समाजवादी पार्टी सरकारमा सहभागी हुने सहमति भएको थियो। पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले समाजवादीसँग गरिएको सम्झौता कार्यान्वयन नभएकोमा नेकपासँग आक्रोश पोखेका छन्।

‘कम्युनिस्ट पार्टीको शासनमा सरकारभन्दा पार्टी ठूलो हुन्छ,’ नागरिकसँग उनले भने, ‘त्यसैले सहमति कार्यान्वयन नहुनुमा सरकार होइन, कम्युनिस्ट पार्टी जिम्मेवार हुन्छ।’ कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच संवादहीनताको स्थिति आएको उनले बताए। ‘अब कम्युनिस्ट पार्टीले सोच्नुपर्ने बेला भएको छ। नेकपा र समाजवादी पार्टीबीचको सम्बन्धमा अन्योल बढेको छ,’ उनले भने, ‘पार्टीभित्र साथीहरूले संविधान संशोधन प्रक्रिया किन अघि बढेन भनी प्रश्न उठाउन थालेका छन्। यो स्वाभाविक पनि हो।’ अहिले सरकारमा रहेका तत्कालीन तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न पार्टीभित्रैबाट दबाव बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com