किन उर्लियो रविको लागि जनसागर ? आत्महत्या वा हत्या निर्क्यौल नहुँदै किन गरियो पक्राउ ? (भिडियाे)



प्रकाशित मिति : Aug 18, 2019
label

काठमाडौं । एउटा घटना भयो । अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लियो। अदालतमा उपस्थित गराई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्यो । अपराध अनुसन्धान गर्ने क्रममा यो सामान्य प्रक्रिया हो । सबै घटनामा हुने यस्तै हो । तर अहिले परिस्थिति फरक छ ।

न्युज २४ टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको समर्थनमा भिड उर्लिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत बाहिर उनीहरुले शुक्रबार नाराबाजी गरे । शुक्रबार र शनिबार भिड उत्तेजित हुँदा झडपसमेत भयो। केही प्रदर्शनकारी र प्रहरी घाइते भए। अश्रुग्यास प्रहार गर्नुपर्यो। आखिर किन उर्लियो त एक टेलिभिजन प्रस्तोताका लागि यत्रो भिड? के अरु कुनै टेलिभिजन प्रस्तोताका लागि यति धेरै मास सडकमा आउँछ ?

रवि लामिछानेका समर्थकहरुलाई ‘अन्धभक्त’ मात्रै भनेर यो प्रश्नको जवाफ पाइन्न। अन्धभक्त हुनुपर्ने के काम गरे त रविले? कुनै पनि सञ्चारकर्मीको समर्थनमा यति धेरै मान्छे उत्रेर यति उत्तेजित नाराबाजी गरेको यो पहिलो पटक हो । उत्तेजित भिडका नाराहरु अनौठा थिए– हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ । अहिलेसम्म राजाको पक्षमा मात्र यस्तो नारा लागेको सुनेको भएपनि युवादेखि उमेर ढल्किसकेका वृद्धवृद्धाहरु पनि रविको समर्थनमा सडकमा आएको देखिएको छ ।

रविलाई बिहीबार राति प्रहरीले टेलिभिजनको कार्यालयमा नै गई पक्राउ गरेको केही समयपछि ‘उनका समर्थकहरु खाडी देशमा छन्, आन्दोलन गरे उतै गर्लान् नि’ भन्नेहरु पनि देखिएका थिए। तर उनीहरुलाई समेत स्तब्ध पार्ने गरी चितवनमा प्रदर्शन भइरहेका छन्। भलै अदालतले सोमबारसम्मलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइसकेकोले प्रदर्शन हुँदैमा रिहा हुने स्थिति पक्कै पनि छैन। यसले अनुसन्धान छिटो सकाएर अदालती प्रक्रियामा लैजान दबाब पक्कै देला।

४१६ वटा एपिसोडमै रविले के त्यस्तो जादू गरे, जुन नेपालका कुनै पनि टेलिभिजन प्रस्तोताले गर्न सकेका थिएनन् । इर्ष्या र डाहा गर्न त पाइयो तर सँगै एक पटक सोच्न पनि पर्यो , पत्रकारिताको अभ्यासमा अडियन्स (दर्शकरपाठक) र सञ्चारकर्मीबीच रहेको एउटा ठूलो खाडललाई उनले कम गरेका त हुन् नि। हाम्रो बोली उनले बोलिदिन्छ भन्ने आशा र विश्वास सामान्य मानिसका मनमा उनले पारिदिएका त हो नि ।

गलत काम गर्नेहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्ने बनााइदिने काम त उनले गरेका हुन् नि। आज उनी अप्ठेरोमा पर्दा सबभन्दा खुसी गलत काम गर्नेहरु पनि भएको त सही हो नि। भलै उनको शैलीसित विमति राख्न पाइएला। उनले गरेको कामलाई पत्रकारिता भन्ने कि नभन्ने भन्ने प्रश्न पनि होला । शालिकरामले करोडौँ असुल्छ भनेर मृत्युअघि बनाएको भिडियोमा बोलेको कुरा अहिलेलाई आरोपमात्रै हो। प्रहरीले यो विषयमा छानबिन गर्न पनि सक्छ, नगर्न पनि सक्छ। यति कुरा आएपछि राज्यलाई चासो लागे छानबिन गर्न सक्छ। छानबिनबाट अन्यथा प्रमाणित नभएसम्म अहिलेलाई यो आरोपमात्रै हो। शालिकरामलाई उनले मर्न बाध्य बनाएको हो कि हैन यो विषयमा पनि प्राप्त प्रमाणका आधारमा अदालतले फैसला गर्ने नै छ ।

कसरी हिरो बने रवि ?

रवि एउटा प्रभावकारी कार्यक्रम बनाउन चाहन्थे । केही यस्तो काम गर्नुर्पयो, जसका कारण आफ्नो नाम रहोस्। त्यसपछि उनले ६२ घण्टा १२ मिनेटसम्म कार्यक्रम चलाएर विश्वमा सबैभन्दा लामो समयसम्म टक शो होस्ट गरेको विश्व कीर्तिमान बनाए। यो सन् २०१३ को कुरा थियो । तर विश्व रेकर्डले भन्दा पनि उनलाई चिनाउने काम चाहिँ ‘सीधा कुरा’ले नै र्गयो। यसको सुरुवात भने ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ बाट भएको थियो। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री थिए त्यतिबेला। सरकार परिवर्तन भएर प्रचण्ड प्रधानमन्त्री बने, कार्यक्रम अर्कैले चलाए। त्यही लोगो र त्यही सेटमा ।

उनले ‘सीधा कुरा प्रधानमन्त्री’सँग नभई ‘सीधा कुरा जनतासँग’ चलाए उस्तै लोगो र उस्तै सेटमा। त्यो नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो। जनतालाई आफ्नो कुरा यही कार्यक्रममा आउँछ, आफ्नो समस्याको समाधान यही कार्यक्रमले गर्छ भन्ने विश्वास जित्न सफल भयो यो कार्यक्रम। नेपाली समाजलाई सबैभन्दा छुने विषय – वैदेशिक रोजगारीको ठगी, विमानस्थल अध्यागमनको बेथिति अनि भ्रष्टाचारमा उनी आक्रामक भएर लागे। लाइभ अन्तर्वार्तामा झाँको झार्ने कामदेखि अलपत्र परेकाहरुको उद्दारसम्मका घटनाले नै उनलाई हिरो बनायो। समस्या समाधान हुने आशामा मान्छेहरुको भिड प्रहरी चौकीमा भन्दा बढी उनको अफिसमा देखिन थाले ।

निराशा नै निराशा फैलिरहेको समाजमा रविको छवि ‘आशा’ जगाउने बन्दै गयो। त्यसैको प्रतिबिम्ब हो अहिले अनुसन्धानका लागि हिरासतमा मात्र राख्दा पनि उनलाई फँसाउन खोजियो भन्दै सडकमा उत्रिएको भिड। किनभने सत्य र तथ्य जे सुकै भए पनि भिडका हरेकले आफै न्यायाधीश भएर फैसला गरिसकेका छन्।

यो प्रकरणले सिक्नु पर्ने केही विषय:

१) पत्रकारितालाई पाठ

कुनै सञ्चारकर्मीको पक्षमा यसरी सडकमा जनता उत्रिएको मलाई थाहा छैन। अरु सञ्चारकर्मीले सोच्नुपर्छ( हाम्रो पत्रकारितामा कहाँनिर के ‘मिस’ भइरहेको छ। के हामीले अडियन्स र सञ्चारकर्मीबीच रहेको खाल्डोलाई पुर्न नसकेका हौँ। त्यो खाल्डो अझ फराकिलो र गहिरो बनाउँदै लगेका हौँ। के सर्वसाधारणले अरु पत्रकारहरुलाई आफ्नो आवाज बोल्न नसक्ने ठानेका हुन्? आवाजविहीनहरुको आवाज बन्न अरु पत्रकार नसकेका हुन्? रविको शैलि ठीक हैन भने ठीक शैलीमा उनको भन्दा प्रभावकारी सञ्चारकर्म गर्न नसकेका हुन्? अरु पत्रकारलाई किन गाली गर्छन् ? उनलाई किन ‘भगवान’ सरह मान्छन्?

२) राज्यसंयन्त्रप्रति चरम निराशा

यो घटनाले पनि देखाउँछ( राज्यसंयन्त्रप्रति सामान्य नागरिकको चरम अविश्वास र निराशा छ। अदालतले प्रमाणको आधारमा फैसला गर्छ। निर्दोषले दण्ड पाउँदैन। दोषी अवश्य दण्डित हुन्छ भन्ने विश्वासै छैन। निर्दोषलाई फँसाउँछन् भ्रष्टाचारीहरुले भन्ने खालको चरम अविश्वास अदालत, प्रहरी र सरकारप्रतिसमेत छ। एउटा भिडियोमा त एक आक्रोशित युवकले यिनीहरुले रविलाई फँसाए, अब कुलमानलाई पनि यसरी नै फँसाउँछन् भन्दै चिच्याइरहेको देखेको थिएँ। यस्तो निराशा घातक हुनसक्छ। आफूप्रति विश्वास जगाउने परिणामसहितको काम देखाउन आवश्यक छ।

३) आफ्नो काम गरे हिरो भइँदो रहेछ

नेपालमा हिरो हुन अरु केही नगरे हुने रहेछ । आफ्नो काम इमान्दारीका साथ गरे हुने रहेछ । रवि लामिछाने एक टेलिभिजन प्रस्तोता हुन् । उनले पीडितहरुको आवाज आफ्नो कार्यक्रममार्फत् टेलिभिजनमा सुनाए। यो उनको काम थियो। सेलिब्रिटी भएका प्रहरीहरु पनि हेर्नुस्( उनीहरुले गरेको काम भनेको अपराधीलाई पक्रनु थियो, जो उनीहरुको कामै हो । विद्युत प्राधिकरणको एमडीको हैसियतले आफ्नो काम इमान्दारीपूर्वक गरेर लोडसेडिङ हटाउँदा कुलमान घिसिङ हिरो भए। अरुले आफ्नो काम नगरेको भएरै यत्रो वर्ष लोडसेडिङ सहनुपरेको रहेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com