अब नेपालमा पत्रकारहरुले सुरक्षित छु भन्ने दिन गएः धर्मेन्द्र झा, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ



प्रकाशित मिति : Aug 18, 2019

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर न्युज २४ टेलिभिजनको कार्यालय परिसरभित्रै प्रवेश गरी ‘सीधाकुरा जनतासँग’कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएकोप्रति विभिन्न सञ्चारमाध्यम र सञ्चार संघ संस्थाको ध्यानाकर्षण भएको छ । यसै विषयमा कुराकानी गर्नका न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘छ प्रश्न’कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार धर्मेन्द्र झालाई निम्त्याएको छ ।

पत्रकारलाई मात्रै नभई जुनसुकै ब्यक्तिलाई पनि पूर्व जानकारी विना पक्राउ गर्न नमिल्ने बताएका छन् । साथै पत्रकारिता संवेदनशीलविषय वस्तु भएको बताउँदे उनले भने– ‘पत्रकारसँग धेरै प्रकारका सूचना हुन्छन्, धेरै प्रकारका जानकारी हुन्छन् । उसले जनतालाई सू–सूचित गराउने जिम्मेवारी बोकेको हुन्छ । यस्तो अवस्थमा एउटा समाचार कक्षामा गएर, सञ्चार संस्थामा गएर, जथाभावी रुपमा क्यामेरा डाउन गराएर, मोबाइल बन्द गराएर राज्यलाई गिरफ्तार गर्छ भने त्यसलाई कुनै पनि हालतमा उपयुक्त मान्न सकिदैन ।’

टिभी जर्नलिष्ट प्रदीपराज दाहालसंग कुरा गर्दै पूर्व अध्यक्ष झाले अगाडि थपे – ‘किनभने त्यस्तो अवस्थामा पत्रकारले आफू सुरक्षित मान्न सक्दैन । स्वतन्त्रताको हनन हुन्छ । यसको सम्बन्ध भनेको पत्रकारितासँग मात्रै पनि हुँदैन । यसको सम्बन्ध विचार तथा अभिव्यक्ति स्वतन्त्रतासँग पनि जोडिएको हुन्छ । पत्रकार भन्नाले जनताको कुरा भन्ने हो । पत्रकारिता एउटा मेडिएटर (माध्यम) मात्रै हो ।’

पत्रकारद्वय रवि लामिछानेले पूर्वसहकर्मी शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणलाई लिएर अनुसन्धानमा प्रहरीलाई पूर्ण सहयोग गर्छु भन्दाभन्दै पनि विना पूर्व जानकारी सञ्चारगृहमै प्रवेश गरि प्रहरीले देखाएको हर्कतको बारेमा बोल्दै उनले भने– ‘राज्य जुन प्रकारले सञ्चार माध्यममा प्रवेश गर्दछ, धरपकड गर्दछ, जुन शैली अपनाउँदछ । त्यो शैली प्रेस स्वतन्त्रताको विरुद्ध लिनुपर्छ । कुनै पनि ब्यक्ति कुनै अपराधसँग जोडिएको छ भने त्यसलाई पक्राउ उगर्ने प्रक्रिया बेग्लै होला । पक्राउ गर्ने कानूनी प्रक्रिया बेग्लै होला । तर, कार्यकक्षमा नै घुसेर जुनप्रकारले आफ्नो रुप देखाएको छ, त्यसलाई सहि मान्न मिल्दैन ।’

उनले थपे– ‘विश्वमा धेरै देशहरु छन् । ती देशका आ–आफ्नो शासन पद्धति होलान् । हामीले मान्नुपर्ने चाँही लोकतन्त्रसँग जोडिएका देशहरु, लोकतान्त्रिक शाषन भएका देशहरु, त्यस्तै विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी जुन अन्तर्राष्ट्रिय मापदण्डहरु छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघका नजिरहरु छन्, सिद्धान्तहरु छन् । यी सबैको अवस्थामा के छ भन्दा खेरि पक्राउ गर्न नपाइने होइन । तर, पक्राउ गर्दा एउटा प्रक्रिया चाँहि पूरा गर्नुपर्ने हुन्छ । पूर्व जानकारी विना प्रहरीले कुनै पनि सञ्चारमाध्यमा प्रवेश गर्न पाउँदैन ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com