लैङ्गिक अल्पसंख्यकको कथा ‘जेब्राक्रस’माथि बहस



प्रकाशित मिति : Aug 18, 2019

चितवन । उपन्यासकार तर्कना शर्माको नयाँ पुस्तक जेब्राक्रसमाथि अन्तरक्रिया गरिएको छ ।

सम्पूर्ण किताबको आयोजनामा नारायणगढस्थित चितवन साहित्य परिषद्को भवनमा कार्यक्रमको आयोजना गरिएको हो ।

जेब्राक्रस समलिङ्गी वर्गप्रति सम्बोधन गरेर लेखिएको उपन्यास हो । उपन्यासमा विराज नामको मुख्य पात्रकाे प्रेमकथा र वैवाहिक जीवनलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ ।

उपन्यासले महिला हिंसाको मुद्दालाई उठान गरेको छ । पुस्तक माथि टिप्पणी राख्दै प्रभा बरालले भनिन्- ‘समाज पुरुषप्रधान भएकै कारण विराजकाे घमण्ड पनि उपन्यासमा छताछुल्ल भएकाे कुरा व्यक्त गरिन् तर लेखकले नरम ढंगले विषयलाई उठान गरेकी छन् ।’

कार्यक्रममा मानव सचेत समाज नारायणगढका देव श्रेष्ठले तेस्रो लिङ्गीका सन्दर्भमा आफ्ना धारणा राखेका थिए । श्रेष्ठ यौनिक तथा अल्पसंख्यक समुदायका अगुवा हुन् । उनले तेस्रो लिङ्गीलाई सामाजिक व्यवहारमा समानता हुनुपर्नेमा राज्यले ख्याल गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसैगरी कार्यक्रमको दोस्रो चरणमा जेब्राक्रस संवाद गरियो । संवादमा लेखक शर्मा सहित शान्ति शर्मा र गणेश शर्मासँग विजय बिश्वकर्माले संवाद चलाए । गणेश श्रमणले भने- ‘जेब्राक्रसले समाजमा ओझेलमा परेको विषयलाई मुलधारमा ल्याएको छ ।’

संवादमा सहभागी अर्का श्रस्टा शान्ती शर्माले लेखकले पात्रहरुलाई न्याय गर्न नसकेको बताइन् । लेखक तर्कना शर्माले तेस्रो लिङ्गीले पनि सामान्य नागरिकझैँ बाँच्न पाउने अधिकारको वकालत गर्न आफ्नो पहिलो आख्यान मार्फत यौनिक तथा लैङ्गिक अल्पसंख्यकको कुरा उठाएको बताइन् । पुस्तक साङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com