३२ श्रावण २०७६, शनिबार

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद देखिन थालेको छ । विभाग गठनमा भएको भागवण्डाप्रति पूर्वमाओवादीहरुले असन्तुष्टि जनाएका छन् । पूर्वएमालेहरु पनि गुटलाई महत्व दिएको बताउँछन् । जसका कारण नेकपाभित्र भावनात्मक एकता हुन नसकेको जानकारहरुको ठम्याई छ ।

पार्टी एकीकरणका समयमा समान राजनीतिक हैसियतका आधारमा कार्यविभाजन हुने सहमति भएको नेकपाका नेताहरुले बताएका छन् । विशेषतः पूर्वमाओवादी नेताहरुबाट यस्ता दाबीहरु आएका छन् । त्यसैले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहालले एकीकरण नभएको हुन्थ्यो कि भन्ने लाग्न थालेको समेत बताउनुभएको छ । उहाँको यो अभिव्यक्तिले असन्तुष्टि देखाउँछ ।

विभाग गठन र कार्यविभाजनमा पूर्वएमालेको बाहुल्यता भएको प्रति पूर्वमाओवादीहरुले असन्तुष्टि जनाउन थालेका छन् । उनीहरुले पार्टी एकतावद्ध भएर अघि बढ्न सम्म नसक्ने अवस्था आउनसक्ने समेत बताउने गरेका छन् । नेकपा भित्र त्रिपक्षीय शतिm सन्तुलनका आधारमा पदीय व्यवस्थापन गर्ने गरिएको छ । अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको छुटाछुटै गुट सक्रिय छन् । गुटगत आधारमा राजनीति चल्ने हुदा नेकपाका नेताहरुले सरकारको प्रतिरक्षा गर्न समेत त्यती ध्यान नदिने गरेको बताइन्छ ।

राजनीतिका जानकारहरुले नेकपामा ‘बार्गेनिङ’ को प्रवित्ति विकास भएकाले लोकतान्त्रि विधि र प्रक्रिया हराएको आलोचना गरेका छन् । यस्ता प्रवित्तिले भावनात्मक एकतालाई टाढा बनाउने तर्क गर्नेहरु पनि छन् । पार्टीमा सन्तुलन मिलाउन ३२ विभाग गठन गर्दा गुटलाई प्राथमिकतामा राखिएको आलोचना भएका छन् । यीनै विभाग गठन गर्दा पूर्वएमालेलाई शक्तिशाली विभाग र पूर्वमाओवादीलाई कमजोर विभाग दिएको भन्दै पार्टीमा विवाद सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV