
- सुमन कार्की,
पाल्पा, ३२ साउन । असारे रोपाईको झल्को दिने गरी पाल्पामा रोपाईजात्रा निकालिएको छ । तानसेन बजारको चोक–चोक र सडकहरुमा वडा नंं ७ काजीपौवाबाट आएका किसानहरुले नाटकीय शैलीमा रोपाई गरेर शहरवासीहरुलाई रोपाईको झल्को मेटाईदिएका छन् ।
पञ्चेबाजा र असारे गीतको तालमा युवा–युवती सडकमा धान रोप्ने, हल गोरुले सडकमा जोत्ने, कोदालीले सडक खन्ने, विभिन्न थरीका असारे गीत गाउदै दिनभरी तानसेनको सडकमा रोपाई जात्रा देखाएका छन् । तानसेनका सडकमा भएको रोपाई जात्रामा दर्शकहरुले समेत नाच्दै भरपूरमनोरञ्जन लिएका छन् ।
रोपाईजात्रामा साहु मुखियाको झल्को मेटाउने गरी छाता ओडेर अघिपछि सहयोगी सेना, पुलिस लगाएर, फोटो खिचेको अभिनय गरेर शहरवासीलाई मनोरञ्जन प्रदान गरेका छन् । रोपाईजात्रा निकाल्न ५० जना भन्दा बढी जनशक्तीको आवश्यकता पर्ने खर्च जुटाउन धौ–धौ परेको भन्दै विगतका समूहले यस बर्ष तानसेनमा रोपाईजात्रा निकालेन ।
परम्परा जोगाउनको लागि तानसेन नगरपालिका वडा नंं ७ कुसुमडाडा संरक्षण समितिले तानसेनमा रोपाईजात्रा निकालेर शहरबासीलाई मनोरञ्जन गराएको छ । तानसेन नेवारी कला संस्कृतिमा काठमाडौं पछिको दोस्रो शहर भएपछि पछिल्लो समय स्थानीय कला संस्कृति हराउँदै जाँदा जात्राको रौनक घट्दै गएको छ ।
रोपाईजात्रा हेर्न विभिन्न स्थानबाट तानसेनमा दर्शकहरुको भिडभाड लागेको थियो ।