३२ श्रावण २०७६, शनिबार
  • प्रेम सुनार

बुटवल । चितवन प्रहरी नियन्त्रणमा रहेका पत्रकार रवि लामिछानेका बारेमा पहिलो पटक सरकारका एक प्रभावशाली मन्त्रीले मुख खोल्नुभएकाे छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार गृहजिल्ला गुल्मी आएको बेला सञ्चारकर्मीहरूको जिज्ञासामा मुख खोल्नुभएको हो ।

मन्त्री ज्ञवालीले कानुनभन्दा माथि कोही पनि नभएको बताउँदै भन्नुभयाे, ‘एउटा भिडियो सार्वजनिक भएपछि रवि लामिछानेजीलाई सोधपुछका लागि पक्राउ गरिएकाे हाे, हामी कोही पनि कानुनभन्दा माथि छैनौं र रविजी पनि हुनुहुन्न ।’

मन्त्री ज्ञावलीले पत्रकार सालिकराम पुडासैनीको भिडियो आफूले हेरेको बताउँदै भन्नुभयो, ‘केही कुराहरू एक-आपसमा बाझिएका पनि छन् । त्यो कुरा सत्य नहुन पनि सक्छ, तै पनि मरेर जाने मान्छेले त्यसो भनेपछि सोधपुछ गर्नै पर्छ ।’

त्यसो भए त्यो भिडियो इडिट गर्ने मान्छेलाई पनि सरकारले खोज्न पर्ने होइन र ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘खोज्छ, किन नखोज्ने ? उसलाई खोजेपछि थाहा हुन्छ बदमासी गर्ने को हो भन्ने । सबै कुरा खुल्छ । निर्दोष मान्छे फस्ने कुरा हुँदैन, दोषी भए कुनै पनि ओहदाको मान्छे भन्नु हुँदैन ।’

उहाँले सञ्चार माध्यमलाई धेरै भ्युवरको दम्भ नदेखाउन समेत सुझाउनुभयाे । उहाँले भन्नुभयो, ‘कुन पत्रिका कति छापिन्छन् र अनलाइनहरूका पनि कसका धेरै भ्युवर छन् भन्ने कुरा हुँदैन, विश्वसनीयता र मर्यादा ठूलो कुरा हो ।’

मन्त्री ज्ञवालीले प्रेस स्वतन्त्रताप्रति अहिलेको सरकार कटिबद्ध रहेको पनि बताउनुभयो । ‘तपाईँ खुलेर लेख्नुस्, लेख्न पाइन्छ । लेखेका सबै कुरा ठिक हुन् भन्ने कुरा हुँदैन, लेख्न चाहिँ स्वतन्त्रता छ,’- मान्त्री ज्ञवालीले भन्नुभयो ।

फरक प्रसङ्गमा मन्त्री ज्ञावलीले अहिले संविधान कार्यन्वयन र समृद्धिको जग निर्माणको वर्ष भएको र समृद्धिको यात्रा सुरु भएको पनि बताउनुभयो । यस कार्यकालमा वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या ३७ प्रतिशत कम भएको रेमिटेन्स भने बढेको पनि मन्त्री ज्ञावलीले सुनाउनुभयो ।

गृह जिल्ला सत्यवतीको बाढी पीडितहरूलाई शुक्रवार तेस्रो पटक राहत लिएर आएका ज्ञवालीले यस वर्षभित्र जनता आवस कार्यक्रम मार्फत तीनै तहको सरकारको समन्वयमा व्यवस्थित घर निर्माण गरिने पनि बताउनुभयो ।

यहाँका बाढी पीडितहरूको उद्धारमा मन्त्री ज्ञवालीको पहललाई पीडित परिवारहरूले निकै प्रशंसा गर्दै आएका छन् । उहाँको पहलमा देशैभरका सामाजिक सङ्घ संस्थाहरूले प्रशस्त राहत समेत यहाँ पुर्याउन आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV