३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । आज गाईजात्रा अर्थात भाद्र शुक्लप्रतिपदा राजधानीमा यो पर्व विशेष रुपमा मनाउने गरिन्छ । मल्लकालीन संस्कृतिको झल्को दिने यो संस्कृति शिवमार्गी नेवारी समुदायमा बिशेष रुपले मनाउने प्रचलन रहिआएको छ ।

नेपाली समाजमा संस्कार, संस्कृति र परम्परा धेरै छन । त्यसैले पनि भन्ने गरिन्छ वर्षभरी नै प्रत्येक दिन जस्तो बिभिन्न चाडपर्वहरु मनाइने गरिन्छ । राजा प्रताप मल्लको पालादेखि आफन्तजन गुमाउने परिवारका सदस्यहरुले मृतकको सम्झनामा सडकमा सवैभन्दा अगाडि गाई र गाई नभएमा गाईकै भेषमा कुमार केटालाई गाईको रुपमा लिएर परिक्रमा गर्ने प्रचलन रहि आएको छ ।

विक्रम सम्वत १६४१ देखि १६६४ मा राजा प्रताप मल्लका छोराको निधनले उनकी रानीलाई परेको पुत्र वियोगको शोकका कारण विक्षिप्त बनेकाले उनको मन बहलाउन राजाले गाईजात्रा निकाल्ने प्रचलन शुरु गरेको इतिहास भेटिन्छ । त्यसोत गाईको स्वरुपको अलाव देवी देवता देखि जोगीको भेषमा समेत सर्वसाधारणहरु सडकमा निष्कने प्रचलन रहिआएको छ । आफन्त गुमाएका परिवारका सदस्यहरु जात्रामा परिक्रमा गर्ने गर्दछन् ।

गाईजात्राको अवसरमा देशभित्रका वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकरात्मक पाटो या कुसंस्कारमाथि ठट्यौली, चुटकिलाकोे माध्यमवाट व्यङ्गात्मक पाराले तिखो प्रहार गर्ने प्रचलन पनि रहेको छ । आजका दिनमा गरिने ठट्यौलीलाई रिष या राग राख्न नपाईने प्रचलन छ । त्यसैले पनि बर्षभरिका बिकृतिलाई आजका दिन पारेर चोटिलो प्रहार गर्ने गर्दछन् ।

गाईजात्रा काठमाडौंको प्रमुख चाड भएता पनि देशका अन्य ठाँउमा समेत नेवारी समुदायमा गाइजात्रा मनाउने चलन रहिआएको छ । आजको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV