३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । चालू आर्थिक वर्षमा सडक विभागले असोजमै ठेक्का लगाउने गरी काम अघि बढाएको छ । असोजमै ठेक्का लाग्दा समयमा आयोजना सकिने र गुणस्तरीय काम हुने अपेक्षा छ । विभागको तयारीमा निर्माण व्यवसायीहरु पनि सकरात्मक छन् ।

सडक विभागले असोजभित्रै ठेक्का लगाउने नीति कडाईका साथ लागु गर्ने भएको छ । विभागले असारे विकास रोक्न नीति कार्यान्वयनमा लागिपरेको हो । विभाग मातहतका ठेक्का असोजभित्र लगाउने गरि काम सुरु गरिएको विभागको भनाइ छ ।

हरेक बर्ष आर्थिक बर्षको अन्तिममा काम गर्ने परम्परालाई तोड्न विभागले योजना अघि बढाएको छ । हरेक बर्ष आर्थिक बर्षको अन्तमा हुने विकासे कामबाट विभागले पनि धेरै अपजस ब्यहोर्नुपरेको छ । यसैले पनि विभाग असोजभित्रै ठेक्का लगाउँदा कार्तिक, मंसिर र पुस तीन महिना काम भएमा असारे विकास कम हुने निष्कर्षमा पुगेको छ । तर सरकारको यो नीति बहुबर्षिय ठेक्काको हकमा भने लागु हुने छैन् ।

सडक विभागको निष्कर्ष

  • –बजेट भाषण लगत्तै आयोजना छनोट गर्नुपर्ने
  • –आयोजना छनोटपछि साइट क्लियर गर्नुपर्ने
  • –आयोजनाका तयारीका चरणहरु पूरा गरि साउनमै टेण्डर निकालिसक्नुपर्ने
  • –असोजभित्र टेण्डर मूल्याङकन गरि सम्झौता गरिसक्नुपर्ने
  • – दशै तिहार लगत्तै निर्माण कम्पनी मोविलाईज भएर काम सुरु गर्नुपर्ने
  • – बजेटको सुनिश्चितता लगायतका आयोजना सबै तयारी गरेर मात्रै ठेक्का सम्झौता गर्नुपर्ने
  • –निर्धारित समयमा काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का तोडिने

त्यसो त नेपालमा काम हुने महिना ठेक्का लगाउँदै वित्ने र आर्थिक बर्षको अन्तमा विकासे काम गर्ने चलन छ । सरकारी कामप्रति पूर्वाधारविद्हरु पनि असहमत छन् । निर्माण व्यवसायी महासंघ पनि सरकारको नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छ ।

यसअघि नैं सरकारले यो नीति ल्याएपनि कार्यान्वयनमा भने आउन सकेको थिएन् । नेपालमा अधिकांश आयोजनाहरु समयमा ठेक्का नलाग्दा निर्माण अवधीमा पुरा हुन सकेका छैनन् भने सकिएका पनि गुणस्तरहीन छन् । पछिल्लो संशोधित सार्वजनिक खरिद नियमावली अनुसार साईट क्लियर नभएमा ठेक्का निकाल्न भने पाईदैन ।

असोजभित्रै ठेक्का सम्झौता गरिसकेर काम सुरु गर्ने भएपछि समयमा काम पुरा हुने अपेक्षा छ । अहिले विभाग मातहत झण्डै दुई हजार आयोजनाहरु रुग्ण अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV