३१ श्रावण २०७६, शुक्रबार
  • रविना बोहरा

बागलुङ, ३१ साउन । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङका एक दम्पतीको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मसाने कामीलाई सार्वजनिक गरेको हो । गत साउन २५ गते शनिबार राति बोबाङ अङगरे बिराउनी बस्ने ६४ वर्षीय भानबहादुर कामी र उनकी श्रीमती ६० वर्षीया विमा कामीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

२५ गते विहान शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले शंकास्पद ३ जनालाई पक्राउ गरि २८ गते मंगलबार जिल्लामा ल्याइएको थियो । पक्राउ परेकाहरुमध्ये मसाने बिकले हत्या गरेको स्वीकार गरेपछि अन्य दुई जनालाई सोधपुछ पछि छाडिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्ले जानकारी दिए । मृतक कामीका छोरा लिले कामी र मसाने कामीको जेठी बुहारी सिता बिक बिच अनैतिक क्रियाकलाप रहेको मसाने कामीले अरोप लगाउँदै आएका थिए ।

यसै बिषयमा बारम्बार झैझगडा गर्ने गरेकाले साउन २५ गते घरमा सम्झाई बुझाईका लागि जाँदा पुनः झगडा हुन थालेपछि कामीले उनीहरुको हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । मृतक दम्पती मध्य भानबहादुर कामीलाई बन्चरोले प्रहार गरेको र उनकी श्रीमती बिमा कामीलाई खुकुरी प्रहार गरी मारेको प्रहरी उपरिक्षक भट्टले बताए ।

यसैबीच प्रहरीले जबरजस्ती करणीको आरोपमा र लागुऔषध कारोबारी तथा प्रयोगकर्तालाई पनि पत्रकार सम्मेलनमा नै सार्वजनिक गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर ७ मालिका बस्ने पतिराम सार्कीले गत साउन २९ गते राती घरमा एक्लै सुतिरहेकी महिलालाई ढोका खोल्न लगाएर जबरजस्ती गरेको आरोप उनलाई सार्वजनिक गरिएको हो । यसबारे थप अनुसन्धानका लागि दुवैको स्वास्थ्य परिक्षण गरी प्रक्रिया अगाडी बढाएको बताइएको छ ।

यस्तै ताराखोला गाउँपालिका–१ भुस्कात घर भई बागलुङ सदरमुकाम बस्दै आएका १८ बर्षिय सुदिन छन्त्याललाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । यही साउन २७ गते बानपा–२ श्रीनगरटोलमा सार्वजनिक बाटो शंकास्पद तरिकाले हिड्दै गरेको अवस्थामा खानतलासी गर्दा डाइजोपाम–२ एम्पुल, फेनारगत २ एम्पुल र नुर्फिन २ एम्पुल गरी ६ एम्पुल लागुऔषध बरामद गरिएको थियो । यस विषयमा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV