३० श्रावण २०७६, बिहीबार

दोलखा । जनैपूर्णिमाको दिन दोलखामा नेवार समूदायले ठूलो लाखेजात्रा निकाल्ने गर्दछन् । गठेमंगलबाट सुरु भएर कृष्णाष्टमीको दिनसम्म हुने गुल्ना जात्राको क्रममा जनैपूर्णिमाको दिन लाखे जात्रा निकाल्ने गरिएको हो ।

बर्षा अर्थात असारे काम सकेपछि सुरु हुने गुल्ना जात्रा राक्षस र देवताको खेल, लडाईसँग सम्बन्धित मानिन्छ । यो समय राक्षसहरु धेरै विगविगी भएर देवताहरुलाई लखेटेर राज्य कब्जामा लिएपछि देवताहरु कालिन्चोक भगवतीको शरणमा गएर आफ्नो समस्या राखेपछि भगवती माताले आफ्नो शैन्य शक्ति पठाएर ती राक्षशहरुलाई जमिन युद्ध, आकास युद्ध तथा जल युद्ध गरेर वध गरेको किम्वदन्ती रहेको छ ।

यसको सम्झना स्वरुप जनैपूर्णिमाको अघिल्लो दिन स्थानीयहरु बाजा बजाएर नगर परिक्रमा गरेर कालिन्चोक जाने गर्दछन् र भोलिपल्ट कालिन्चोक भगवती माइको दर्शन गरी बाजागाजा सहित फर्किन्छन् ।

कालिन्चोकबाट दोलखा बजार आइपुगेपछि ठूलो लाखे निकालिन्छ । यस पर्वसँग जोडिएको ठूलो लाखे जुन घरबाट निकालिन्छ साँझ त्यही घरमा भित्र्याउने चलन रहेको छ । ठूलो लाखेले विशेष प्रकारको भेषभुषा र मुकुण्डो लगाएर नृत्य गर्ने गर्दछ ।

यसक्रममा विशेष प्रकारले सजाएको मण्डपमा पूजाआजा गर्ने र दाउरेहरु पोखरीमा पौडी खेल्ने चलन छ । त्यस्तै, विभिन्न भेषभुषामा सजिएका दाउरेहरुले नृत्य पनि प्रस्तुत गर्छन । जनै पूर्णिमाको दिन यस प्रकारको विधि–विधान गरे राक्षसले दुःख दिँदैन भन्ने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV