३० श्रावण २०७६, बिहीबार

काठमाडौं । काठमाडौंमा आकाशे पुल निर्माणको विषयले संघ र स्थानीय तहबीच विवाद भएको छ । काठमाडौं महानगरपालिकाले चक्रपथ क्षेत्र र अन्य ६ स्थानमा आकाशे पुल बनाउने भएपछि सडक विभाग अन्तर्गतको उपत्यका चक्रपथ सडक सुधार आयोजनाले विरोध जनाएको हो । विभागले महानगरपालिकाले मन्त्रिपरिषद्को निर्णय विपरित काम गरेको आरोप लगाएको छ ।

महानगरपालिकाले ८ मिटर भन्दा कम सडकमा मात्र सडक पूर्वाधार निर्माण गर्न पाउँने व्यवस्था रहेको सडक विभागको भनाइ छ । संघसँग विना छलफल महानगरपालिकाले आकाशे पुल निर्माणको योजना बनाएको विभागको तर्क छ ।

काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँ बजेट विनियोजन गरी उपत्यकाका ६ स्थानमा आकाशे पुल निर्माण गर्ने गुरुयोजना ३ वर्ष अघि नै बनाएको थियो । चावहिल, जयवागेश्वरी, माइतीघर, नयाँ वानेश्वर, टेकु र सिंहदरवार क्षेत्रमा आकाशे पुल बनाउने योजना महानगरको छ ।

तर, ती सबै सडकहरु केन्द्र सरकार माताहात पर्दछ । महानगरपालिकाले केन्द्रको विना निर्णय पुरातत्व विभाग अगाडी आकाशेपुल निर्माण गर्न कोशी विल्डर्स प्रालीलाई ६८ लाख ७१ हजार रुपैयाँमा टेण्डर स्वीकृत गरिसकेको छ । त्यस्तै, चावहिल, र जय वागेश्वरीको टेण्डर प्रक्रिया पनि अन्तिम चरणमा छन् । महानगरले आकाशेपुल निर्माण गर्ने सबै सडक ८ मिटर भन्दा माथिका छन ।

महानगरपालिका भने केन्द्रसँगकै सहमतिमा काम अघि बढाएको दाबी गर्छ । कानून अनुसार नमिलेपनि केन्द्रले नगर्ने तर, सडकमा हिलो, धुवा, पूर्वाधार अभावलाई विकाश गर्ने दायित्व महानगरको भएको दावी छ ।

हुनत कलंकी कोटेश्वर सडक–खण्डमा चीनले हस्तान्तरण गरेको एकवर्ष वित्दा समेत चक्रपथ विस्तार आयोजनाले बनाउनपर्ने पुल बन्न सकेको छैन । ८ वटा पुलहरु निर्माण गर्नपर्ने भएपनि हालसम्म ४० प्रतिशत मात्र काम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV