२९ श्रावण २०७६, बुधबार
  • राम गोपाल तमखु,

भक्तपुर । भक्तपुर मध्यपुर नगरपालिका राधेराधे स्थित चक्रवर्ती हवि एजुकेसन एकेडेमीमा ३० जना नर्सिङमा अध्ययन गर्ने विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । अदालतको फैसलालाई आधार मानी नयाँ भर्ना लिई एक वर्षदेखि अध्ययनरत विद्यार्थीहरुको रजिष्ट्रेशन पनि नगरी परीक्षामा समेत सामेल गराउन नसकिएको कलेजले गुनासो गरेको छ ।

एक बर्षदेखि अध्ययनरत विद्यार्थीहरुको परीक्षा नरोक्न उच्च अदालतले पटक–पटक दिएको आदेशलाई समेत लत्याउँदै सीटीईभिटीले ३० जना बिद्यार्थीहरुको भविष्य अन्योलमा पारेको कलेजले जनाएको छ । २०५९ सालमा सीटीईभिटीबाट सम्बन्धन प्राप्त गरी २०६१ सालदेखि नर्सिङमा प्रविणता प्रमाणपत्र तहमा पढाई हुदै आइरहेको छ ।

एकेडेमीमा २०७५ सालको नयाँ भर्नाका लागि कलेजले सीटीईभिटीमा निरन्तर सम्पर्क गरेको तर सोही समयदेखि नै बेवास्ता गर्दै आएको कलेजका कार्यकारी अध्यक्ष निल कृष्ण ताम्राकारले आज पत्रकार सम्मेलामा जानकारी दिए ।

कलेजले २०७५ सालमा विद्यार्थी भर्ना गर्न सीटीईभिटीईसँग अनुमति माग्दा सय बेडको अस्पतालको व्यवस्था गरेर मात्र विद्यार्थी भर्नाको अनुमति दिन सकिने जानकारी दिइएको अध्यक्ष ताम्राकारले जानकारी दिए । उनले त्यसपछि कलेजले सय बेड भएको गणेशमान अस्पताल एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरेर सीटीईभिटीमा पेश गरेको बताए ।

त्यसपछि पनि सीटीईभिटीले कलेजको सम्बन्धनै रद्द गर्ने कोशिस गरेको उनले आरोप लगाएका छन् । तर अदालतको निरन्तरको आदेश समेत लत्याउँदै सीटीईभिटीले बेवास्ता गर्दै आएको र विद्यार्थीको भविष्य अन्योलमा परेको कलेजको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV