पूर्वराजालाई नार्गाजुनबाट निकाल्ने नेकपा अध्यक्षको भनाइपछि राजनीति तरंगित



प्रकाशित मिति : Aug 14, 2019

काठमाडौं । कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाईको सरकार बनेपनि राजनीति दिशाहीन भएको बताउन थालिएको छ । राजनीतिक दलका नेताहरुले नै विभिन्न शक्ति केन्द्रहरु चलखेलमा लागेकोसम्मका अभिव्यक्ति दिन थालेका छन् । केही दिन अघि मात्र नेकपा अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजालाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएपछि राजनीति तरंगित बनेको छ ।

नेकपा अध्यक्ष दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकामा प्रश्न उठाउँदै आएका छन् । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेका बेला पूर्वराजाले खेल्न खोजेको अध्यक्ष दाहालको आरोप रहने गरेको छ ।

भारतमा हिन्दुवादी दल भारतीय जनता पार्टी पुनः सरकारमा आएपछि नेपाललाई हिन्दूराज्य बनाउने र राजाको स्थान समेत खोज्ने विषयमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भनाइ आएको चर्चा चल्ने गरेको छ । योगीको भनाइलाई आधार मानेर पूर्वराजा शक्ति फिर्ता गर्न लागि परेको अनुमान गर्नेहरु पनि छन् ।

यद्धपि योगीले औपचारिक रुपमा त्यस्तो नभनेको बताइसक्नुभएको छ । यही विचमा अध्यक्ष दाहालले पूर्वराजाको गतविधिलाई लक्षित गर्दै नार्गाजुनबाट निकाल्ने बताएका थिए । दुईतिहाइको सरकार भएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेकाले पूर्वराजालाई दोष दिइएको भन्नेहरु पनि छन् ।

तर नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल भने धमिलो पानीमा माछा मार्ने प्रवृती बढेका कारण पुर्वराजावारे दाहालको यो धाराणा आएको भन्दै बचाउ गर्छन् । नेपालमा राजतन्त्र फर्कने कुनै आधार नभएको भन्दै राजनीतिका जनाकारहरुले अध्यक्ष दाहालले राजाका गतिविधिलाई लीएर टिप्पणी गर्नु औचित्यहिन भएको बताएका छन् ।

प्रमुखप्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिक्रिया दिन चाहेको छैन तर यसअघि नै काँग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले हिन्दू धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com