२९ श्रावण २०७६, बुधबार

काठमाडौं । पुँजी बजारका साथै समग्र मुद्रा बजार तथा वित्तीय क्षेत्रको अध्ययन गर्न संसदीय उपसमिति गठन गरिएको छ । अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन उपसमिति गठन गरेको हो ।

उपसमितिमा सांसद रामबाबु यादव, प्रमिला राई, कुमार राई र मेटमणी चौधरी सदस्य छन् । समितिले उपसमितिलाई २ महिना भित्र आफ्नो अध्ययन प्रतिवेदन बुझाउनु पर्ने समय सीमा तोकेको छ । समितिले उपसमिति बनाई अध्ययन गर्ने भए पछि ब्रोकर लाइसेन्स दिने प्रक्रिया प्रभावित हुने भएको छ ।

संसद्को समितिले कुनै विषयमा अध्ययन गर्ने भए पछि त्यस भित्र सरोकार राख्ने निकायले आफ्नो निर्णय प्रक्रिया स्थगन गरि समितिलाई सघाउने र निर्णय पर्खने चलन छ । अब धितो पत्र बोर्ड र स्टक एक्सचेन्जले ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोक्नुपर्ने हुन्छ ।

अर्थ समितिले केहि समय अगाडी धितोपत्र बजारमा देखिएको उतार चढाव र अनियन्त्रित कारोबारको विषयमा सरोकारवाला सबै निकाय सँग विभिन्न चरण छलफल गरेको थियो । यता, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले पनि बाणिज्य बैंकहरुको सहायक कम्पनिलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गरिरहेका छन् ।

LIVE TV