तीन सय चालकको लाइसेन्समा प्वाँल पारियो



प्रकाशित मिति : Aug 14, 2019
  • सविन लामिछाने,

तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले झण्डै तीन सय चालकको लाइसेन्समा प्वाँल पारिदिएको छ । नियम विपरित चलाएको भन्दै ती सवारी चालकको लाइसेन्समा ट्राफिकले कारबाहीस्वरुप प्वाँल पारिदिएको हो ।

लाइसेन्समा प्वाल पारिनेमा अधिकांश मादक पदार्थको सेवन गरी सवारी चलाउने छन् । धेरै पटक चेतावनी पाउँदा पनि घटना दोहो¥याउनेलाई प्वाल पार्ने गरिएको ट्राफिकको भनाइ छ । कतिपय अवस्थामा भने बिना चेतावनी नियम उल्लंघनकर्तालाई प्वाल पार्ने गरिएको छ ।

तनहुँका ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार गत आर्थिक वर्षभर दुई सय ९४ मोटरसाइकल चालक यस्तो कारबाहीको दायरामा परेका छन् । उनीहरुसँग जनही एक हजार रुपैयाँ जरिवाना समेत संकलन गरिएको छ । उनीहरुबाट दुई लाख ९४ हजार रुपैयाँ जरिवाना समेत संकलन गरिएको छ ।

पुराना लाइसेन्समा प्वाल पारे पनि नयाँ स्मार्ट लाइसेन्सका हकमा भने अभिलेख दर्ताका लागि यातायात व्यवस्था विभाग पठाइएको अधिकारीले बताए । ‘पूरानामा प्वाँल पारेका छौं,’ उनले भने, ‘नयाँको दर्ता अभिलेखका लागि विभाग पठाएका छौं ।’

ट्राफिकले सबैभन्दा बढी गत असोजमा ४४ वटा लाइसेन्समा प्वाल पारेको थियो । साउन महिनामा २७, भदौमा ६७, कात्तिकमा ३६, मंसिरमा १७, पुसमा ३३,माघमा १०, फागुनमा ७, चैतमा ११, वैशाखमा ८, जेष्ठमा १६ र असारमा ८ वटा सवारी साधनहरुले मादकपदार्थ सेवन मापसे गरेकाले चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल पारेको ट्राफिक प्रमुख अधिकारीले बताए ।

ट्राफिकले मोटरसाइकल दुई सय २२, कार तथा जिप ३०, ट्याक्टर २४, बस १२ र ट्रक तथा ट्याङकर ६ वटामाथि यस्तो कारबाही गरेको प्रमुख अधिकारीले बताए । ट्राफिक प्रहरीले कडाईका साथ मापसे जाँच गरिरहेको जानकारी दिए । ट्राफिक प्रमुख अधिकारीले पछिल्लो समय चालक सचेत भएकाले कारबाही संख्या घटेको बताए ।

चालक आफ्नो स्वास्थ्यलाई लिएर सचेत भएको र मापसे सेवन गर्ने समय पनि परिवर्तन गरेको हुनसक्ने उहाँको तर्क छ । सवारी नियम, २०४९ को दफा ४२ अनुसार मापसे गरेर सवारी चलाउनेलाई कारवाहीस्वरूप लाइसेन्स प्वाँल पार्न सकिने व्यवस्था छ । पाँच पटकसम्म मापसे गरी कारवाहीमा परेर अनुमतिपत्र प्वाल भए अनुमतिपत्र नै खारेज हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com