
- सुदिप पौडेल
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ११ वटा वडा कार्यालयहरुमा चोरी गर्ने र ती समानहरु खरिद गर्ने दुवै व्यक्तिहरुलाई आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं। ११ बस्ने ५१ वर्षका किशोर थापालाई प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको हो । यसैगरी चोरीका सामानहरु खरिद गरेको भन्दै कास्की प्रहरीले मकवानपुर थाहा नगरपालिका वडा नं. १२ घर भई हाल काठमाडौं वडा नं।.१४ कलंकी स्थित कम्प्युटर सोलुसन पसल सञ्चालन गरी बस्ने वर्ष ३६ का रुपचन्द्र गोपालीलाई पनि पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले किशोर थापालाई पोखरा–६, सहिदचोकमा हुलियाका आधारमा शंका लागेर सोधपुछ गर्दा यो रहस्य खुलेको जिल्ला प्रहरी कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
पोखरा–१०, कालिकाचोकस्थित डेरामा बस्ने थापाले विभिन्न वडा कार्यालयहरुमा चोरी गर्ने गरेको र ती सामानहरु पोखराबाट बाहिर लगेर बिक्री गर्ने गरेको स्वीकार गरिसकेका छन् । प्रहरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा ती चोरी भएका सामानहरु समेत सार्वजनिक गरेको थियो । प्रहरीले थापालाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

विभिन्न मितिमा थापाले १२, १५, १४, २९, ५, १३, १६, १९, ३१, २५ र ६ नम्बर वडा कार्यालयहरुबाट कम्प्युटर, ल्यापटप, सिपियु र मनिटरहरु चोरी गरेका थिए । चोरीमा पक्राउ परेका थापा यस अघि डाका चोरी मुद्दामा काठमाडौं केन्द्रीय कारागारमा ५ वर्ष र चोरी मुद्दामा ३ वर्ष सजाय भोगिसकेका व्यक्ति हुन् ।
थापाले वडा कार्यालयबाट सामानहरु चोरेर नजिकै बन्दै गरेको घरमा लुकाउने र विहानै काठमाडौंको बस चढी ती सामानहरु लैजाने गरेको पनि पक्राउ सम्मेलनमा जानकारी दिईएको छ ।