२८ श्रावण २०७६, मंगलवार

झापा । सरकारले असारदेखि भदौसम्म तीन महिना नदीजन्य सामग्रीको उत्खनन्मा रोक लगाएको भएपनि नेपाल भारत सीमामा पर्ने मेची र तिरिङ नदीको चरम दोहन भइरहेको पाइएको छ । सरकारी बन्देजको बेवास्ता गर्दै इलाम र झापाको सिमानामा पर्ने यी नदीबाट दैनिक सयौँ ट्याक्टर ढुङ्गा उत्खनन् भइरहेको भएपनि स्थानीय सरकार र प्रशासन मुकदर्शक छन् ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ तिरिङका स्थानीय तस्करले इलामको रोङ गाउपालिका वडानम्बर ६ दुधेचौरी क्षेत्रबाट दैनिक एक सय भन्दा बढी ट्याक्टरमा ढुङ्गा उत्खनन् गर्दै आएका छन् । उनीहरुले उक्त ढुङ्गा स्थानीय तिरिङखोला बगरमा भण्डारण गर्दै आएका छन् ।

मेचीनदीको ढुङ्गा उत्खनन्का लागि स्काभेटर समेत प्रयोग गर्दै आएका छन् । अबैध उत्खनन् गरिएका हजारौ घनमिटर ढुङ्गा बगरमा भण्डारण गरिएको भएपनि सम्बन्धित निकाय मौन छन् । जसका कारण दादागिरी शैलीमा खोला उत्खनन् भइरहेको छ ।

हुन त तिरिङ्का तस्करले अहिलेमात्रै नदी उत्खनन् गरेका भने होइनन् । उनीहरुले बर्षभरी नै सम्बन्धित निकायबाट अनुमति नलिई यसरी नै नदी उत्खनन् गदै आएको स्थानीय बताउँछन् । तस्करले खोलामा स्काभेटरै प्रयोग गरेर ढुङ्गा निकालेकाले मेची नदिको नेपालतर्फको भाग गहिरो भई कटान समेत बढेको स्थानीयको भनाई छ ।

तिरिङ क्षेत्रमा मात्रै २० भन्दा बढी युवाको पेशा नै ढुङ्गा तस्करी रहेको छ । उनीहरुले नजिकैको तिरिङ खोलाको ढुङ्गा सबै बेचिसकेपछि बिगत ४ वर्ष अघिबाट मेचीको ढुङ्गा उत्खनन् गर्न थालेको स्थानीयको भनाइ छ । उत्खनन्का कारण इलामको पाटापुर, झापाको तल्लो पाटापुर र तिरिङ क्षेत्र कटानको जोखिममा परेको स्थानीयको भनाइ छ ।

यसरी दैनिक नदीको अवैध दोहन भइरहेपनि स्थानीय जनप्रतिनिधि र प्रहरी भने यस विषयमा एकअर्कालाई दोष देखाएर पन्छिने गर्छन् । अवैध उत्खनन् गरी भण्डारण गरिएका ढुङ्गा नदीको प्रतिबन्ध हटेपछि महंगो दाममा ठेकेदारलाई बिक्री गर्दै आएका छन् । ढुङगा उत्खनन् र तस्करीमा प्रयोग गर्ने उद्धेश्यले तिरिङमा मात्रै ५० भन्दा बढी ट्याक्टर रहेका छन् । भारततर्फ समेत नदी उत्खनन् यतिबेला बन्द छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV