२८ श्रावण २०७६, मंगलवार

काठमाडौं । प्राचिन अभयपुर राज्यको राजधानी दोलखा सहरको सांस्कृतिक परम्परा तथा जात्राको दिर्घकालिन संरक्षनार्थ ६ थरीका ४ गुठियारतथा ७ सय दोलखालीको नाममा लालमोहर जारी गर्दै त्यहाँ विभिन्न गुठी स्थापना गरिएको तथ्य ऐतिहासिक प्रमाणले पुष्टी गरिसकेको छ । (भिडियाे)

नेपालको एकीकरणपछि विक्रम सम्वत् १८८६ बैशाख १४ गते तत्कालिन राजा रणबहादुर शाहबाट दोलखाका विभिन्न जात्रा तथा मन्दिरमा पूजा गर्ने गरी लालमोहर जारी भएको थियो । दोलखामा रहेका विभिन्न गुठीको मातहतमा ठूलो परिमाणमा जमिन छ । तर, गुठीको नाममा रहेको भनिएको कतिपय स्थानको जग्गा गुठीको नाममा नापी भने भएको छैन ।

केही गुठी र रहेका जग्गा :

कालिन्चोक क्षेत्रको जग्गा गुठीको नाममा नापी–नक्सा नभएका कारण वन कार्यालयले र स्थानीय तहले दावी गर्दै आएका छन् । गुठीको भनिएको जग्गा अतिक्रमण गरेर कालिञ्चोक क्षेत्रमा व्यवसायीक संरचना बनाइएको छ । कालिञ्चोक केबलकारले समेत गुठीको जग्गा अतिक्रमण गरेको छ । गुठी आवद्ध स्थानीय भने अतिक्रमणको चपेटामा परेको जग्गा संरक्षण गर्ने अभियानमा छन् । तर, स्थानीय तहसहित सरकारी निकायकै दावीका कारण उनीहरुको अभियान सार्थक बन्न सकेको छैन ।

कालिञ्चोक क्षेत्रका विभिन्न स्थानमा रहेको जग्गा गुठीको भएको तथ्य ऐतिहासिक प्रमाणले पुष्टी गरेको छ । कालिन्चोक क्षेत्रमा रहेका आठवटा खर्क (कुरी, टुटान, मेहेल, रातमाटे, गैरी, सिक्री, झनेरी र थामी देउराली खर्क) गुठी अधिनस्थ नै हो । तर, गुठीको नाममा नापी भएको छैन ।

स्थानीयले देउढुंगा किल्लादेखि दक्षिण, सिमखर्क धर्मढोकादेखि उत्तर, गोमथली–सुन्धारा खोल्सादेखि पूर्व र धुसेनी ठाडे कमेरे भित्री खोल्सादेखि पश्चिमको ४ किल्ला भित्रका खर्कको नापी/नक्सा हुनुपर्ने स्थानीयको माग सुनुवाई भएको छैन । गुठीको जग्गा गोलमाल हुँदा त्यसबाट प्राप्त हुने आयस्था प्रभावित हुँदा ऐतिहासिक जात्रा, पर्वको निरन्तरता दिन कठिन भइरहेको छ ।

दोलखाका विभिन्न गुठीको नाममा हजारौं रोपनी जग्गा रहेको तथ्य पुष्टी भइसकेको छ । तर, २०४५ साल यता ति जग्गा भोगचलन गर्नेले तिर्नु नर्ने जिन्सी तथा नगद भने सम्बन्धित गुठीलाई बुझाएका छैनन् । बरु, गुठीको जग्गा कमाउँदै आएका मोहीले रैकरमा परिणत गर्नु माग गर्दै आएका छन् । दोलखा बजारको जात्रा–पर्व चलाउन कालिञ्चोक भगवती र त्रिपुरासुन्दरी भीमेश्वर गुठीअन्तर्गत विक्रम सम्वत् १८८६ वैशाख १४ गतेको लालमोहरलाई आधार मान्दै गुठी संस्थानले कालिञ्चोक क्षेत्रको जग्गा आफ्नो भएकाले नापी हुनुपर्ने माग गर्दै आएको छ ।

प्रमुख आयस्रोतको रुपमा रहेका जग्गा विभिन्न नियकायले कब्जा गर्न खोज्दा गुठीको आम्दानी दिन प्रतिदिन घट्दै गएको छ । जसबाट विभिन्न मन्दिरको नियमित पूजा सञ्चालनदेखि परापूर्व कालदेखिका जात्रा–पर्वलाई निरन्तरता दिन समस्या हुन थालेको छ । गुठीको जग्गाको आम्दानीबाट नै दोलखा बजारमा वार्षिक २४ भन्दा बढि जात्राm पर्व सञ्चालन गर्नुपर्छ ।

परापुर्व कालदेखि अहिलेसम्म सञ्चालन भइरहेको रातो मच्छिन्द्रनाथको रथजात्रा २०३९ सालदेखि गुठीबाट आउनु पर्ने जिन्सी, नगद र जनश्रम नआएपछि १६ वर्षसम्म रोकियो । धार्मिक, सांस्कृतिक महत्वको ऐतिहासिक रथयात्रा रोकिएपछि चिन्तित बनेका स्थानीयले आफ्नै प्रयासमा २०५५ सालदेखि रथयात्रालाई निरन्तरता दिएका त छन् । तर, स्रोत–साधनको अभावमा कहिलेसम्म निरन्तर रहने हो निश्चित छैन ।

सिलालेखसहितका ऐतिहासिक प्रमाणमा गुठीको जग्गा यकिन हुँदा पनि समयमै नाप÷नक्सा नहुँदा ति जग्गामा वन मन्त्रालयले समेत दावी गर्न थालेको छ । वन ऐन २०३४ अनुसार सबै खर्क राष्ट्रियकरण भइसकेकाले गुठीको जग्गा पनि स्वतः आफू मातहत हुने वन मन्त्रालयको दावी छ । गुठीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेका जग्गा चौतर्फी अतिक्रमण हुन थालेपछि स्थानीयले पटक–पटक विभिन्न निकायमा समस्याको समाधानका लागि ध्यानाकर्षण गराए । तर, कसैले पनि गम्भीर चासो दिएको छैन ।

नेवार समुदाय बहुल्य रहेको दोलखा बजारमा आफ्नै किसिमको रहनसहन, परम्परागत चाडपर्व र रितिरिवाज छन् । काठमाडौं उपत्यकामा मनाइने प्रायः सबै जात्रा÷पर्वलाई दोलखाले पनि निरन्तरता दिँदै आएको छ । र त दोलखालाई काठमाडौंपछिको सांस्कृतिक नगरका रुपमा चिनिन्छ । तर, जात्रा/पर्व सञ्चालनका लागि मुख्य स्रोत हुनुपर्ने गुठीको जग्गा निरन्तर अतिक्रमणमा पर्दा र मोहीले समेत वर्षौदेखि कुत नबुझाउँदा दोलखाको ऐतिहासिक पहिचान संकततर्फ धकेलिएको छ ।

स्थानीयले आफ्नै जोड बलमा निरन्तरता दिँदै आएका धार्मिक–सांस्कृतिक गतिविधिको निरन्तरताका लागि पनि गुठी जग्गाको संरक्षण अनिवार्य छ । र, यसका लागि स्थानीयले जारी राखेको पहलमा स्थानीय तहसहित अन्य सरकारी निकायले ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV